काठमाडौं, ६ मंसिर । भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले तराई मधेशका २० जिल्लामध्ये १५ जिल्लाका उत्तर–दक्षिण जोड्ने करिव ७ सय १ किलोमिटरको २४ मार्गहरुको निर्माण कार्यको लागि टेण्डर प्रक्रिया सुरु भएकोले अबको दुई तिन महिनाभित्रै दु्रत गतिमा निर्माण कार्य हुने बताएका हुन् ।
उनले अघि थपे, ‘तराई मधेशमा विकासको गति अब अघि बढ्छ, सडक सञ्जाल भएमात्रै आर्थिक गतिविधि बढ्छ ।’ हुलाकी राजमार्ग अन्र्तगर्त बन्ने २४ मार्गहरुमध्ये १० वटा मार्ग भारतको अनुदानमा र बाँकी १४ वटा मार्गहरु नेपालको आन्तरिक स्रोतले नै निर्माण हुने मन्त्री लेखकले जानकारी दिए । करिव १८ अर्बको लागतमा बन्ने उक्त राजमार्गहरु भारतले ८ अर्ब अनुदान दिने पनि उनले जनाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री लेखकले पूर्व–पश्चिम हुलाकी राजमार्गको पनि डिपीआर अन्तिम चरणमा पुगेको बताए । करिब १२ सय किलोमिटरको राजमार्गको डिपीआर अन्तिम चरणमा पुगेकोले अब छिट्टै दोस्रो चरणको कार्य पनि सुरु हुने उनले जनाए ।
मन्त्री लेखकले नेपाल दुई ठूला विशाल छिमेकीहरुका बीचमा भएकोले दुवै देशसँग सडक सञ्जालले जोड्नको लागि पनि सडक सञ्जालको विस्तारमा विशेष ध्यान दिनुपर्ने बताउँदै भने,‘सडक सञ्जाल र यातायातले उत्तर दक्षिण जोड्न सक्यौ भने नेपाल दुई ठूला देश भारत र चीनको हब बन्छ ।’
त्यस्तै मन्त्री लेखकले काठमाडौं–तराई मधेश फाष्ट ट्रयाकको अस्पष्टता र अन्यौलता पनि अब हटेको दाबी गरे । उनले अघि थपे,‘अब फाष्ट ट्रयाक निर्माणका सम्बन्धमा अब कुनै द्धिविधा छैन, यसबारेमा मैले विशेष निर्णय गरेको छु, अब मन्त्रिपरिषदमा गएको छ ।’
उनले अब फाष्ट ट्रयाक नेपाल सरकारले नै निर्माण गर्ने महत्वपूर्ण निर्णय भएसँगै यसलाई सार्वजनिक सडक सरह नै रहने व्यवस्था पनि गरिएको जानकारी दिए । त्यस्तै उनका अनुसार फाष्ट ट्रयाक निर्माणबारे डिपीआर आँफै गर्ने वा के कसरी गर्ने भन्नेबारेमा पनि अध्ययन गर्न योजना आयोगका उपाध्यक्षको नेतृत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।
त्यस्तै फाष्ट ट्रयाक निर्माणबारे वित्तिय व्यवस्थापनबारे पनि ऋण सहयोग वा अनुदान के गर्ने भन्नेबारेमापनि अहिले छलफल भैरहेको उनले जानकारी दिए । उनले अघि थपे,‘फाष्ट ट्याकको ठेक्काको मोडेल कस्तो हुने, यी सबै विषयमा विशेष प्रतिवेदन तयार पार्नको लागि समिति गठन गरिएको छ, समितिले एक महिनाभित्रै रिपोर्ट तयार पार्छ ।’
मन्त्री लेखकले उत्तरी सिमा नाका पनि चाँडो भन्दा चाँडो खोल्नेबारे तयारी भैरहेको जानकारी दिए । उत्तरी सिमाना जोड्ने सडक सञ्जालको विस्तार कार्यको लागि नेपाली सेनालाई ट्रयाक खोल्ने जिम्मा दिने निर्णय समेत भएको उनले बताए । गोरखाको लार्केभन्ज्याँग अन्तर्गत चीन जोड्ने नाकाको आफूले स्थलगत् निरिक्षण समेत गरिसकेको उल्लेख गर्दै उनले यस्ता जटिल ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताए ।
चीनसँग भएको सम्झौता अनुरुप केरुग–काठमाडौं रेलवेको सर्भेको कार्य अघि बढिरहेको समेत उनले जनाए । त्यस्तै उनले काठमाडौं उपत्यकामा देखिएको टा«फिक जामको समस्या समाधानको लागि पनि आफूले विशेष कार्ययोजना अघि ल्याउन लागेको खुलासा गरे ।
उनले भने, ‘काठमाडौंमा फ्लाई ओभर ब्रिज र मेट्रो रेलको सर्भे कार्य अघि बढाउनुपर्छ, यो अहिले नै सम्पन्न गर्ने कुरा होईन, त्यसैले सम्भव भए यही आर्थिक वर्षको बजेट अनुसार नभए अर्को आर्थिक वर्ष भएपनि सर्भे गर्नुपर्छ ।’
मन्त्री लेखकले बुटवल देखि कञ्चनपुरको दोधारा चाँदनी रेलवेको लागि डिपीआर कार्य अन्तिम तयारीमा पुगेको समेत स्पष्ट पारे । उनले सवारी तथा यातायात व्यवस्थापन ऐन संशोधन कार्यपनि आफूले अगाडि बढाएको उल्लेख गर्दै भने,‘रोड सेफ्टी काउन्सिल बनाउनेसम्मका कुरा संशोधनमा उल्लेख गरिएको छ ।’ त्यस्तै उनले नेपाल सरकारकै ५१ प्रतिशत स्वामित्व रहनेगरि ट्रान्सपोर्ट कम्पनी खोल्नेबारेमा पनि आफूले सोचेको बताए ।
















प्रतिक्रिया