काठमाडौं, ५ मंसिर । नेपालको त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग र भारतको नेशनल मिडिया फाउन्डेसनले राजधानीको सभागृहमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विवाद भएको छ ।
‘भारत–नेपालमैत्री सम्बन्ध र मिडियाको भूमिका’ विषयक सम्मेलनका प्रमुख वक्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दी भाषामै सम्बोधन गर्न खोजेपछि नेपाली सहभागीहरुले विरोध गर्दा विवाद भएको हो ।
सहभागीहरुले नेपालको गृहमन्त्री भएर भारतीयलाई खुसी पार्न हिन्दी भाषा बोल्न खोज्नेभन्दै आफू बसेको ठाउँबाट ठूलो स्वरमा विरोध गरेका थिए । सहभागीहरुले नेपालीमा बोल्न आग्रह गरे । तर, उनले पहिला नेपाली र त्यसपछि हिन्दीमा बोल्ने बताए । दर्शक मध्ये कसैले ‘हुँदैन, हुँदैन नेपालीमा बोल्नुपर्छ’ भने । एक छिनमा गृहमन्त्री रिसाए । नेपाली चाहिने भए बाहिर गए हुन्छ भने ।
दर्शकमध्ये एकजनाले भने, ‘तपाई गृहमन्त्री जस्तो व्यक्तिले हामी नेपालीलाई नै हलबाट बाहिर जान भन्न मिल्छ ?’ अनि विमलेन्द्रले भने, ‘तपाई चुप लाग्नुस् ।’
गृहमन्त्रीले भारतबाट पाहुना आएकाले उनीहरुले बुझ्ने भाषामा पनि बोल्ने बताए । पाहुनाहरुको सम्मान गर्नुपर्ने भन्दै गृहमन्त्रीले भने ‘तपाइँहरु सङ्कीर्ण र सङ्कुचित नबन्नुहोस् ।’
त्यसपछि गृहमन्त्री निधिले नेपाली र हिन्दी दुवै भाषामा पालैपालो बोले ।
सम्बोधनमा के–के भने निधिले ?

गृहमन्त्री निधिले संविधान जारी भइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने बताए । संविधान संशोधन गरी पूर्णता दिँदै कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकता हुनुपर्ने धारणा राखे । ‘संविधान संशोधन प्रक्रिया अगाडि बढेको छ, संविधानप्रति केही असन्तुष्ट पक्षको मागलाई सम्बोधन गरी त्यसलाई पूर्णता दिएर कार्यान्वयन गर्ने र स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजना रहेको छ’–उनले भने ।
उपप्रधानमन्त्री निधिले नेपालको संविधान हरेक हिसाबले उत्कृष्ट भएको हुँदा त्यसबारे अनावश्यक टीकाटिप्पणी नगर्नसमेत सबैलाई अपिल गरे । नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्धलाई अझै सुमधुर बनाउनुपर्ने उनको जोड थियो ।
भारतीय पत्रकारद्धारा निधिको प्रशंसा
भारतको नेशनल मिडिया फाउन्डेसन अध्यक्ष राजेन्द्र जैनले भारत र नेपालबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन दुवै देशका सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपाल गृहमन्त्री विमलेन्द्र निधिले विग्रेको नेपाल भारत सम्बन्धलाई सुदृढ तुल्याउन सेतु (पुल)को काम गरेको भन्दै प्रशंसा समेत गरे ।
















प्रतिक्रिया