काठमाडौं, ५ मंसिर । गैरकानुनी रूपमा भित्र्याइएका मोबाइल उपकरण चलाइरहनुभएको त छैन । त्यसो हो भने तपाईंको उपकरण अबको केही महिनाभित्र काम नलाग्ने हुनसक्छ ।
किनभने अबको तीन महिनाभित्र नेपाल दूरसञ्चार प्राधिकरणले स्तर स्वीकृति (टाइप अप्रुभल) नभएका मोबाइल सेटको बिक्री र प्रयोगमा कडाइ गर्ने भएको छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
प्रयोगमा रहेका र बजारमा बिक्रीका लागि राखिएका त्यस्ता सेटको बिक्री रोक्न कडा कदम चाल्न लागेको प्राधिकरणले बताएको छ । हाल सञ्चालनमा रहेका अवैध मोबाइल सेटको यकिन तथ्याङ्क भने प्राधिकरणसँग छैन ।
‘टाइप अप्रुभल लिन दूरसञ्चार प्राधिकरणको कार्यालयसम्म जानुपर्ने झन्झट हटाउँदैछौँ । अबको तीन महिनाभित्र प्राधिकरणले अनलाइनमार्फत नै व्यक्तिगत तथा व्यावसायिक स्तरमा टाइप अप्रुभल लिने व्यवस्था गर्न थालेको छ’, प्राधिकरणका निर्देशक तथा सूचना अधिकृत पुरुषोत्तम खनालले बताए ।
हाल नेपालमा सबै प्रकारका मोबाइल सेट, फोन सेट, ट्याब्लेटलगायत उपकरणको नेपालमा टाइप अप्रुभल लिनुपर्ने कानुनी व्यवस्था छ ।
प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको उपकरणलाई मात्रै टाइप अप्रुभल दिइन्छ ।
दूरसञ्चार ऐन अनुसार मोबाइल सेट, ट्याब्लेट, रेडियो उपकरण, वाइफाई, ब्लुटुथलगायत उपकरण तथा नेटवर्कले स्तर स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
हालसम्म प्राधिकरणमा आईएमआई नम्बर रजिस्ट्रेसन भएका यस्ता मोबाइल सेटहरूको सङ्ख्या करिब ३२ लाख छ ।
‘टाइप अप्रुभलको प्रक्रिया छिटोछरितो र सहज बनाउने उद्देश्यले अनलाइनमा लैजान लागिएको हो । साथै प्रयोगकर्ता र व्यवसायीले हाल यो प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेकाले पनि यसलाई अनलाइनमा लैजाने तयारी गरिएको छ’, खनालले भने ।












प्रतिक्रिया