काठमाडौं, ४ मंसिर । राप्रपाका प्रभावशाली नेता सुनिलबहादुर थापाले कमल थापाले गणतन्त्र र संविधानलाई मानिसकेको दाबी गर्नुभएको छ । सोही कारण राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण हुन लागेको उहाँले दाबी गर्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता थापाले भन्नुभयो, ‘कमल थापाजीले गणतन्त्र र संविधानलाई स्वीकार गरेकै कारण उपप्रधानमन्त्री र मन्त्री बन्नुभएको हो । यसमा कुनै नयाँ कुरा छैन ।’
कमल थापाले गणतन्त्र स्वीकार गरिसकेकै कारण राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण हुन थालेको नेता थापाको दाबी थियो । हिन्दू राष्ट्र स्थापनाको मुद्दामा दुबै पार्टीको एउटै धारणा रहेको उहाँले उल्लेख गर्नुभयो । ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।
संविधान संशोधनका विषयमा राप्रपासँग कसैले पनि कुरा नगरेको नेता थापाले बताउनुभएको छ । ‘संविधान संशोधनमा हामीसँग छलफल भएको छैन’, उनले भने, ‘संशोधनको कुरा छलफलमा आयो भने पार्टीले निर्णय गर्छ ।’
उहाँले संविधान परिवर्तनशील र गतिशील रहेको पनि बताउनुभयो । ‘यो समय सापेक्ष अनुसार संशोधन हुँदै जान्छ’, उहाँले भन्नुभयो, ‘हामी संशोधन नै गर्नु हुँदैन भन्ने पक्षमा छैनौँ ।’















प्रतिक्रिया