काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि नयाँ शर्त अघि सारेका छन् ।
सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गर्ने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष तीनवटा शर्त राखेका हुन् ।
‘संविधान संशोधनमा एमालेले सहयोग गर्नुपर्ने हो भने, हामीले भनेका कुरा पनि सरकारले मान्नुपर्छ नि’ भन्दै ओलीले प्रचण्डका दूत बनेर नियमित सम्पर्कमा रहेका माओवादी केन्द्रका नेताद्धय कृष्णबहादुर महरा र वर्षमान पुनलाई नयाँ शर्तहरु तेर्साएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव पारित गर्ने आधार सरकारले पेश गर्नुपर्ने पहिलो शर्त ओलीले प्रचण्डका दूतलाई सुनाएका छन् ।
एमाले अध्यक्ष ओलीले दोस्रोमा कडा शर्त राखेका छन् । यो शर्त सत्तासँग जोडिएको छ । तीन वटै निकायको चुनाव समयमै सम्पन्न नभए संविधान कार्यान्वयनमा जटिलता आउने भन्दै ओलीले दोस्रो शर्तमा चुनाव सम्पन्न गर्नको लागि पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने सुनिश्चितता खोजेका छन् । राष्ट्रिय सहमतिको सरकार गठन गरेर तीन वटै निकायको चुनावको मिति समेत घोषणा गर्नुपर्ने माग ओलीको छ ।
अर्काे भनेको एमालेले मधेशी मोर्चाले भनेजस्तौ सबै कुरा संशोधन गर्न नसकिने स्पष्ट पारिसकेको छ । यी तीन शर्त प्रचण्डबाट पूरा भए संविधान संशोधन हुनसक्ने जानकारहरु बताउँछन् ।
















प्रतिक्रिया