
नेपाल र जापानको राष्ट्रिय खेलाडीबीच शनिबार फुटबल म्याच हुँदैछ, तयारी कहाँ पुग्यो ?
तयारी पूरा भइसकेको छ । अब हामी अन्तिम क्षणमा छौँ । शनिबार दिउँसो १ बजे नेपाली र जापानीज टिमबीच एन्फा फुटबल मैदानमा म्याच हुदैछ । यो म्याच खेल्न जापानका तर्फबाट विश्वकप खेलिसकेका खेलाडी पनि नेपाल आइपुगेका छन् । यो हामी नेपाली फुटबल प्रेमीका लागि पनि निकै ठूलो खुसीको कुरा हो । जापानीज टिमले भर्खरै विदेशमा जितेकाले पनि दर्शकहरुको भीड लाग्ने हामीले आशा लिएका छौँ ।
विश्वकप खेलिसकेका फुटबल खेलाडी कसरी नेपाल आइपुगे ?
सन् २०२०को टोकियो ओलम्पिकलाई ध्यानमा राखी जापान सरकारले ‘स्पोटर््स फर टुमारो’ भन्ने नाराका साथ विश्वभर खेलको प्रचारप्रसार गरिराखेको सिलसिलामा नेपालमा पनि कलरबाथमार्फत खेलको विकास र विस्तार गर्दै आएको छ । यसैको निरन्तरता स्वरुप यो वर्ष नेपाल र जापानको दौत्य सम्बन्ध स्थापित भएको ६० वर्षको उपलक्ष्यमा जापानिज व्यवसायिक खेलाडी र नेपालको राष्ट्रिय फुटबल टोलीबीच एकदिने च्यारिटी फुटबल म्याच गर्न लागिएको हो ।
च्यारिटी फुटबल म्याच भन्नुभो । यसको रकम कहाँ खर्च हुन्छ ?
हो, यसबाट उठेको रकम गतवर्षको भूकम्पबाट क्षति पुगेका ग्रामिण क्षेत्रका खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा एन्फा र जापानी संस्था कलरबाथको तर्फबाट संयुक्त रुपमा पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्य लिइएको छ ।
यो म्याचमा जापानका कस्ता फुटबल खेलाडीहरु आउँछन् ?
जापानको राष्ट्रिय टोलीबाट विश्वकपमा सहभागी भएका फुटबल खेलाडी सम्मिलित विभिन्न अन्तर्राष्ट्रिय क्लबमा आबद्ध व्यवसायिक खेलाडीहरु, ए डिभिजन क्लब तथा जे लिग खेलेका अधिकांश व्यवसायिक खेलाडीहरु समावेश हुन्छन् ।
राष्ट्रिय रंगशालामा नगरेर एन्फा मैदानमा किन खेलाउनुभएको ?
हो, दुर्भाग्य नै भन्नुपर्छ यसपटक दशरथ रंगशालामा गर्ने योजना हुँदाहुँदै पनि गर्न सकिएन् । नेपालको फुटबल इतिहासमै पहिलोपटक जापानिज व्यवसायिक खेलाडी नेपालमा आएर खेल्दै थियो । तर, सरकारले यसलाई गम्भीरतापूर्वक लिएन र प्रशस्तै समय हुँदाहुँदै पनि रंगशालाको निर्माण सकेन् । त्यसैले एन्फा मैदानमा गर्न बाध्य भएका छौं । तैपनि नेपालको फुटबल प्रेमीहरुलाई निराश नहोस् भन्ने उद्देश्यले करिब ३५ सय क्षमताको अस्थायी प्याराफिटको निर्माण गरिएको छ । जुन अहिले निर्माण सम्पन्न भइसकेको छ । यसबाट करिब ३५ सय सिट क्षमताको वृद्धि हुनेछ र जम्मा सिट क्षमता ६ हजारको हाराहारीमा हुनेछन् । र, नेपाली दर्शकलाई हाम्रो राष्ट्रिय टिमको र जापानिज खेलाडीबीचको खेल नछुटोस् भन्ने उद्देश्यले एनटीभी प्लसबाट लाइभ (प्रत्यक्ष) प्रशारण गर्ने व्यवस्था समेत मिलाएको छ ।
५) टिकट अग्रिम रुपमा बिक्री सुरु भइसकेको भन्ने समाचार आइरहेको छ । टिकटदर कति राख्नुभएको छ र टिकट कहाँ कहाँबाट पाइन्छ ?
च्यारिटी म्याच भएकोले अलिकति महंगो छ तर, नेपाली दर्शकले तिर्न सक्ने रेट नै छ । एक हजार रुपैयाँदेखि १५ सय र २५ सयसम्मको टिकटहरु बिक्रीका लागि खुल्ला गरिएको छ । एन्फा कम्पलेक्स र राजदरबार उत्तरढोका मेट्रोपार्क बिल्डिङको तेस्रो तला, इन्सेन्टिभ होलिडेजबाट अग्रिम विक्री सुरु गरिएको छ । एन्फा फुटबल ग्राउन्डबाट पनि टिकट लिन सकिन्छ ।
जापानिज सहयोगीहरु पनि आएका छन् कि, के छ ?
करिब २÷३ सय जना जापानिजहरुले टिकट काटिसकेका छन् । जापान टिमको सहयोगको लागि ड्रमहरु बजाउने सामग्रीसहित आएका छन् ।
अन्तमा नेपाली दर्शकलाई केही बन्नुहुन्छ ?
नेपाली दर्शकलाई जापान नेपालबीचको ऐतिहासिक म्याच हेर्न आउन आह्वान गर्न चाहन्छु । ठाउँ साघुरो भएको र सीमित भएकोले आफ्नो सीट समयमै टिकट लिई सुरक्षित राख्न समेत अनुरोध गर्न चाहन्छु । भूकम्पपछि नेपाली दर्शकले घरेलु मैदानमा नेपालको राष्ट्रिय टोलीको म्याच हेर्न पाएको छैन् । यसले राम्रो अवसर दिनेछ भन्ने लागेको छ ।
प्रस्तुतिः कमलराज भट्ट दैनिक नेपाल डटकम











प्रतिक्रिया