काठमाडौं, १९ भदौ । लामो समयको रस्साकस्सीपछि सरकारले ६ वटा देशका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका ६ जना सहसचिवलाई राजदूत सिफारिस गरेको हो । जसअनुसार, खगनाथ अधिकारी थाइल्याण्ड, दीपक धिताल जेनेभा, यज्ञबहादुर हमाल कुवेत, कालीप्रसाद पोखरेल क्यानडा, अमृत राई दक्षिण अफ्रिका र अम्बिका लुइटेल फ्रान्सको राजदूतमा सिफारिस भएका छन् ।
बिगतमा राजदूत नियुक्ति गर्दा परराष्ट्र सेवाका ५० प्रतिशत र राजनीतिक नियुक्ति ५० प्रतिशत समेट्न कांग्रेस र एमालेबीच सहमति भएको थियो । सोही अनुसार, पहिलो चरणमा छ जना राजदूत सिफारिस गरिएको हो ।
यसअघि बरिष्ठता र कार्यक्षमताका आधारमा निर्माण गरिएको मापदण्ड अनुसार परेका अर्जुनकान्त मैनाली भने राजदूत सिफारिस भएनन् । कांग्रेसले मापदण्डका आधारमा छनोट गरिएको करिअर डिप्लोम्याटको नाममा किचलो निकालेपछि काँग्रेस मन्त्रीहरुकै समर्थनमा यज्ञबहादुर हमाल राजदूत सिफारिस भएका छन् । कांग्रेसका मन्त्रीले दुर्गावहादुर क्षेत्री र रमेश खनालको नाममा अडान लिएका थिए । तर, क्षेत्री र खनाल सिफारिसमा पर्न सकेनन् ।
भारत, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, थाइल्याण्ड, जेनेभा, क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंका, ब्राजिल, फ्रान्स, बहराइन र ओमानसहित १६ वटा देशमा लामो समयदेखि राजदूत खाली छ । तर, छिमेकी भारतमा बिहीबार पनि राजदूत सिफारिस हुन सकेन ।
नेपालका ३२ वटा देशमा राजदूत छन् । त्यसमध्ये १६ मध्ये १० ठाउँमा करिअर डिप्लोम्याट र ६ ठाउँमा राजनीतिक नियुक्तिबाट गएका राजदूत छन् । बिहीबार ६ जना करिअर डिप्लोम्याटबाट नियुक्ति भएपछि बाँकी १० जनालाई राजनीतिक आधारमा नियुक्ति गर्ने सरकारको तयारी छ ।
यता, मन्त्रिपरिषदले दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा बुद्धिप्रसाद आचार्य, बीमा संस्थानको प्रशासकमा अश्विनीकुमार ठाकुर र बाणिज्य बैंकको अध्यक्षमा रेवतीकुमार कार्की र अधिकार सम्पन्न एकीकृत बाग्मती विकास समितिको अध्यक्षमा पूर्व सचिव किशोर थापालाई नियुक्त गरेको छ ।
















प्रतिक्रिया