काठमाडौं, २ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत यु होंगबीच गम्भीर विषयमा छलफल भएको छ ।
नेपालका लागि नवनियुक्त राजदूत होंग विहिबार दिउँसो पहिलोपटक एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटा पुगेकी थिइन् । भेटमा नेपाल–चीन सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्रीका रुपमा ओलीको चीन भ्रमणमा भएका सम्झौता कार्यान्वयनबारे छलफल भएको ओलीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भेटमा चिनियाँ राजदूत होंगले चीनले नेपालको आर्थिक विकास र राजनीतिक स्थायित्व चाहेको बताएकी थिइन् । गतवर्ष ओली प्रधानमन्त्री रहेका बेला दुई देशबीच भएका सम्झौताहरु कार्यान्वयनका विषयमा पनि ओली र चिनियाँ राजदूतबीच कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।
चिनियाँ राजदूत होंगले संविधान निर्माणका बेला जस्तै नेपालको आर्थिक विकास र स्थायित्वका लागि पनि राजनीतिक दलहरुबीच एकता हुनुपर्नेमा जोड दिँदै भनेकी थिइन्– ‘संविधान निर्माण गर्दाको जस्तै राजनीतिक दलहरुबीच एकताले मात्रै नेपालमा स्थायित्व र आर्थिक विकास हुन सक्छ ।’ नेपालको विकासमा चीनको सहयोग रहने राजदूत होङको भनाई थियो ।
त्यसक्रममा एमाले अध्यक्ष ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको र सो धारणामा तलमाथि नहुने बताएका थिए । ‘नेपाल एकचीन नीतिमा प्रतिवद्ध छ, त्यसमा तलमाथि हुँदैन’ ओलीले चिनियाँ राजदूतसँग भने ।












प्रतिक्रिया