– अमरराज पुन
रुकुम, ३० कात्तिक । नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रुकुमलाई पहिलोपटक तेक्वान्दो खेलका विभिन्न सामग्री कोरियन तेक्वान्दो प्रशिक्षक मास्टर वाङ योङदल मार्फत आज बिहान हस्तान्तरण गरिएको छ ।
अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी घन्श्याम खड्का र राष्ट्रिय तेक्वान्दो खेलाडी ओम प्रकाश खड्काको सहयोगमा उक्त खेल सामग्री हस्तान्तरण गरिएको हो । हस्तान्तरण खेल सामग्री अन्र्तगत १४ पिस ह्याण्ड प्याड, २ सेट हेड ह्यालमेट र एक सेट लेग गार्ड रहेको छ ।
त्यस्तै २ सेट ह्यान्ड गार्ड, ३ पिस व्याक किक प्याड र ६ सेट चेस्ट कभर प्रदान गरिएको छ । खेल सामग्री हस्तान्तरण कार्यक्रममा तेक्वान्दो खेलाडीहरुले तेक्वान्दो खेल भित्रका विभिन्न कला कौशल प्रर्दशन गरेका थिए । खेल सामग्री अभावका कारण तेक्वान्दो खेलाडीहरुले विगतका दिनहरुमा भोग्दै आईरहेको समस्या अबका दिनमा केही सहज हुने भएकाले पनि खेलाडीहरु निकै खुशी भएका छन् । हस्तान्तरण गरिएका खेल सामग्रीको सहि सदुपयोग मार्फत तेक्वान्दो खेलाडीहरुको खेल अभ्यासमा पनि केही थप विकास हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिति रुकुमका सचिव भद्र खड्काको अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी निलम कुमार न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त खेल सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्थानिय विकास अधिकारी नरेन्द्र कुमार राना मगर, प्रहरी नायब उपरिक्षक अंगुर जिसी लगायत विभिन्न राजनैतिक दलका प्रतिनीधि, पत्रकार र खेलप्रेमी महानुभावहरुको बाक्लो उपस्थिती रहेको थियो ।
रुकुम जिल्लामा छरिएर रहेका तेक्वान्दो खेलाडीहरुको विकास र विस्तार गर्ने उदेश्यले नै सो तेक्वान्दो खेलका विभिन्न सामग्री हस्तान्तण गरिएको हो ।
















प्रतिक्रिया