काठमाडौं, २९ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले भोलि (मंगलबार) मकाउसँग फाइनल खेल खेल्ने भएको छ ।
नेपाली फुटबल टिमका अफिसियल एवं कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव अमृत शाहका अनुसार खेल नेपाली समयअनुसार बेलुका ५ बजेर १५ मिनेटमा सरावक स्टेडियममा हुँदैछ ।
‘नेपाली टिम उच्च मनोबलका साथ भोलि मकाउविरुद्ध मैदानमा उत्रिदैछ,’ मलेसियाबाट नेपाली टिमका अफिसियल शाहले भने- ‘यो टुर्नामेन्टमा टिमोरसँग पहिलो गेम ड्र र दोस्रो तथा तेस्रोमा जित हासिल गरेकाले खेलाडीहरु उत्साहित छन् । उपाधि जित्ने हाम्रो लक्ष्य हो ।’
उनका अनुसार राष्ट्रिय टिममा जापानी कोच ग्यातुकी कोजीको उत्कृष्ट प्रशिक्षणले नेपालको जित्ने सम्भावना दरिलो छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार ग्यातुकी कोजी प्रशिक्षक नियुक्त भएपछि नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रियस्तरमा खेलेका लगातार ७ खेलमा नेपाल हारेको छैन् ।
सोलिडारिटी कपअन्तर्गत पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग बराबरी खेलेको थियो । दोस्रो खेलमा ब्रुनाईलाई पराजित गरी समूह विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले तेस्रो खेलमा लाओसलाई हराउँदै फाइनलमा पुगेको थियो ।
















प्रतिक्रिया