
– सन्तोष यादब
सिरहा, २७ कात्तिक । जल उत्पन्न प्रकोप नियंत्रण डिभिजन कार्यालयका ईन्जिनियर देवनन्दन मण्डललाई अपहरण गरी शरीर बन्धक बनाएको मुद्दाको नाटकीय रुपमा पटाक्षेप भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिरहा भ्रमणको दुई दिनअघि बुधवार आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका माओवादी केन्द्रका दुई नेताहरु रामकुमार यादव र श्रवण यादवलाई भोलीपल्ट विहिवार ४ वजे प्रहरीले छोडेको छ भने सोही मुद्दामा आरोपी रहेका माओवादी केन्द्रका स्थायी समिति सदस्य विश्वनाथ साह शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगै सिरहामा देखापरेका छन् ।
गत भदौ ४ मा ईन्जिनियर मण्डलले जाहेरी दर्ता गराएको देखि माओवादी केन्द्रका नेता विश्वनाथ साह सहित १० जना आरोपितहरु फरार रहेको प्रहरीले जनाउँदै आएको थियो ।
प्रहरी कार्यालयवाट छुटेर आएका नेता रामकुमार यादवलाई कसरी छुट्नु भयो भनी प्रश्न गर्दा उनले सरकारी वकिलले मुद्दा चलाउन नमिल्ने निर्णय गरेकोले आफूहरु छुटेको बताए । उनले भने- यो मुद्दा सदाका लागि समाप्त भयो ।
यता शरीर बन्धक तथा अपहरण मुद्दा लागेका व्यक्तिहरु कसरी छुटे भनी प्रश्न गर्दा सिरहाका प्रहरी प्रमुख तथा एसपी श्याम लाल ज्ञवालीले फोनमा बोल्न नमिल्ने बताए ।
उता जिल्ला सरकारी वकिल मनोज आचार्यसंग जिज्ञाशा राख्दा उनले भने– जाहेरवाला ईन्जिनियर मण्डलले नै उनको कार्यालयको कभरिङ्ग लेटरसहित अपहरण नभएको शरीर बन्धक नबनाएको सामान्य भनाभन मात्र भएको भन्ने व्यहोराको निवेदन दिएको र सो निवेदन प्रहरीले मिसिलमा सामेल गरी पठाएकोले मुद्दा चलाउन नमिल्ने देखियो । कानूनमा व्यवस्था भए अनुसार मुद्दा चल्न नमिल्ने भनी राय ठहर सहित मैले उच्च अदालत तहको सरकारी वकिल समक्ष मिसिल पठाएको छु । उतावाट सदर ठहरियो भने मुद्दा चल्दैन । मुद्दा चलाउन आवश्यक छ भनेर आदेश आयो भने मुद्दा चल्छ ।
आफैले अपहरण गरी शरीर बन्धक बनाएको भनी जाहेरी हाल्ने अनी किन वयान फेरेर पछि हटेको भन्ने प्रश्न गर्दा ईन्जिनीयर मण्डलले भने– के गर्ने ? मेरो कार्यालय प्रमुख रामनरेश मण्डलले अडान नै लिन सक्नु भएन ।’ कार्यालय प्रमुखका कारण दुखद स्थिति आएको उनले दुखेसो पोखे ।
उता कार्यालय प्रमुख राम नरेश मण्डलसंग सम्पर्क गर्दा सम्पर्क कायम हुन सकेन ।
मण्डलको जाहेरी दर्ता नगर्नु भन्ने उप प्रधानमन्त्री तथा गृहमन्त्रीको आदेश अटेर गरी मुद्दा दर्ता गरेकोमा एसपी श्याम लाल ज्ञवालीलाई पेशीमा गृह मन्त्रालय बोलाईएको थियो । मिडियामा यस सम्बनिध समाचार प्रकाशित भए पछि उप प्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधी नै दवावमा परेका थिए र एसपी ज्ञवालीलाई पुन आफ्नै कार्यथलोमा पठाईएको थियो ।
यस पटक प्रधानमन्त्री सिरहा आउने भएपछि एसपी, सरकारी वकिल र जल उत्पन्न प्रकोप डिभिजन कार्यालय लहानका ईन्जिनीयरहरुमाथि प्रधानमन्त्री सिरहा आउनु अघि नै मुद्दा समाप्त गरिसक्नु पर्ने दवाव परेको थियो । प्रधानमन्त्री सिरहा आउनु ठिक एक दिन अगाडी मुद्दाको पटाक्षेप भएको छ ।











प्रतिक्रिया