– नरेश केसी
भैरहवा, २५ कात्तिक । अहिले सामाजिक सञ्जालमा मधेसवादी दलका सबै नेताहरुले एकमुष्ट नागरिकता त्याग्न लागेको खबर भाइरल भइरहेको छ ।
करिब एक वर्षअघि मधेस आन्दोलनका बेला मधेसी मोर्चाको लेटरप्याडमा विज्ञप्ति निकालेर मधेसको माग सम्बोधन नभए सामूहिक रुपमा नेपाली नागरिकता त्याग्ने चेतावनी मधेसी नेताहरुले दिएका थिए । तर, अहिले अंगीकृत नागरिकताको प्रसंग उठ्दा त्यही खबर भाइरल भइरहेको छ ।
यसै प्रसंगमा रुपन्देही आएका तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले मधेसी नेताहरुले एकमुष्ठ रुपमा नागरिकता त्याग्ने भन्ने चर्चा हल्ला मात्र भएको बताए । ‘हामीले नागरिकता त्यागेर कहां जाने हो र ? यो देश हाम्रै हो । नागरिकता त्याग्ने भन्ने कुरै हुदैंन्’ पूर्व भौतिक योजना तथा निर्माण मन्त्री समेत रहेका नेता त्रिपाठीले खण्डन गर्दै भने ।
यस्तो छ तयारी
उता काठमाडौंमा मधेसवादी दल आवद्ध संघीय गठबन्धनले नागरिकता त्याग्ने होइन् कात्तिभित्र संविधान संशोधन प्रस्ताव नआए फेरि आन्दोलन गर्ने तयारी गरेको छ । ‘सरकारलाई संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराउन कात्तिक मसान्तसम्म दिएको समय अझै बाँकी छ’, राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले भने- ‘कात्तिक मसान्तसम्म संशोधन प्रस्ताव दर्ता भएन भने मंसिर पहिलो हप्ताबाट आन्दोलनको तयारीमा छौं ।’
अंगीकृत नागरिकतामा अन्तरिम संविधानकै अधिकार
वरिष्ठ उपाध्यक्ष त्रिपाठीले नागरिकताको सम्बन्धमा अन्तरिम संविधानले व्यवस्था गरेनुसार नै हुनुपर्ने र त्यसमा तलमाथि नहुने जनाएका छन् ।पार्टीका रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका केन्द्रिय सदस्य सहितको बैठक भैरहवामा त्रिपाठीको अध्यक्षतामा बसेको थियो । बैठकपछि पत्रकार सम्मेलन गरी उपाध्यक्ष त्रिपाठीले नेता अंगीकृत नागरिकताको सम्बन्धमा पत्रकारले जिज्ञासा राख्दा अन्तरिम संविधानमा व्यवस्था अनुसार नै हुने जनाए ।
संविधान संशोधनमा सरकार गम्भीर भएन्
नेता त्रिपाठीले सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने आश्वासन दिएता पनि त्यो ब्यबहारमा लागु नगरेको बताए । सीमांकनको विषयमा उनले तराई मधेसमा २ प्रदेश हुनुपर्ने तमलोपाको निश्कर्ष भएको बताए । नेता त्रिपाठीले समावेशी आयोग बाहेक अन्य आयोग विभेदपूर्ण भएको समेत पनि बताए ।
लुम्बिनी अञ्चललाई सीमांकनका नाममा अलग गर्न पाइँदैन्
नेता त्रिपाठीले लुम्बिनी अन्चललाई सीमांकनका नाममा कसैले छुट्टाउँछु भन्नु गलत भएको समेत बताए । भैरहवामा सम्पन्न बैठकमा उपलब्ध केन्द्रिय सदस्यहरुले आ आफ्ना मत राखेको पार्टिका रुपन्देही प्रवक्ता मोहमद इस्लामले जानकारी दिए ।












प्रतिक्रिया