काठमाडौं २५, कात्तिक । संघीय समाजवादी फोरम नेपालकी नेता रेखा यादवले अंगीकृत नागरिकताको विरोध देखाएर संविधान संशोधन तुहाउन खोजिए प्रचण्ड सरकारलाई कसैले जोगाउन नसक्ने चेतावनी दिएकी छन् ।
अंगीकृत नागरिकता मधेशको माग नै नभएको जिकिर गर्दै प्रचण्डले कुनै पनि बहानामा संशोधनलाई ओझेलमा पार्न खोजे सरकार ढल्ने चेतावनी दिएकी हुन् ।
बिहिबार काठमाडौंको धोबिघाटस्थित आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै फोरम नेपालको केन्द्रीय सदस्य समेत रहेकी यादवले भनिन्,– ‘हामीले माग नै नगरेको एजेन्डा देखाएर नयाँ विवाद सिर्जना गरिएकोले संविधान संशोधन प्रक्रियालाई नै डाइभर्ट गर्न यस्तो षड्यन्त्र रचिएको हो कि भनेर गम्भीर आशंका छ ।’
अंगीकृतको ठाउँमा वैवाहिक नागरिकताको प्रावधान हुनुपर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पार्दै उनले हुँदै नभएको मुद्दामा अल्झिएर संशोधनमा ढिलाई स्वीकार्य नभएको बताए ।
‘संविधानबाट अंगीकृत शब्द नै हटाइदिए हुन्छ । विदेशी पुरुषभन्दा पनि बुहारीमाथिको कानूनी विभेद हाम्रो प्राथमिकताको मुद्दा हो’– यादवले भनिन् ।
कात्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभए प्रचण्डको विश्वासनीयता गुम्ने भन्दै उनले पटक पटक भाका सारेर जनतालाई बेवकूफ नबनाउन सुझाव दिइन् ।
‘प्रचण्डले कात्तिक महिनाभित्र संशोधन प्रस्ताव दर्ता गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेकोले हामी प्रतिक्षा गरेका हौं । तर, फेरि पनि धोका भयो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर हामी आन्दोलनमा होमिन बाध्य हुन्छौं’– नेता यादवले भनिन् ।
















प्रतिक्रिया