काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन डोनाल्ड जे ट्रम्प विजयी भएका छन् ।
यससँगै ७० वर्षीय ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा वृद्ध राष्ट्रपति बन्दैछन् । यद्यपी उनी ह्वाइट हाउस पुग्नका लागि करिब दुई महिना कुर्ने मात्र होइन, अझै अर्को निर्वाचन पनि जित्नुपर्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसारका अनुसार आगामी डिसेम्बरमा हुने इलेक्टोरल कलेज भोटिङमा जित दर्ता गराएमा मात्र ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपति बन्दै ह्वाइट हाउस प्रवेशका लागि योग्य हुनेछन् । यद्यपी वर्तमान मत परिणाम हेर्दा ट्रम्पले इलेक्टोरल कलेज भोटिङमा पनि जित्ने करिब निश्चित भइसकेको बताइन्छ ।
निर्वाचनबाट राष्ट्रपतिसँगै ३४ सिनेटर तथा ४२८ हाउस अफ रिप्रिजेन्टेटिभ्स सदस्य चुनिएका छन् । यसका अलावा ५ सय ३८ इलेक्टर्स पनि चयन भएका छन् । यसमा रिपब्लिन र डेमोक्रेटिक दुवै पार्टीका छन् । जनताबाट चुनिएका यीनै ५ सय ३८ इलेक्टर्सहरुको समूहलाई ‘इलेक्टोरल कलेज’ भनिन्छ ।
आगामी १९ डिसेम्बरका दिन इलेक्टोरल कलेजमा नयाँ राष्ट्रपतिका लागि मतदान हुनेछ । त्यही चुनावको नतिजा नै अन्तिम मानिने छ ।
के हो इलेक्टोरल कलेज ?
इलेक्टोरल कलेज भनेको ५३८ भोट हो । यो भोट हाउस अफ रिप्रेजेन्टेटिभ्सको ४३८ र सीनेटका १०० सीट बराबर हुन्छ । हाउस अफ रिप्रेजेन्टेटिभ्स तल्लो सदन हो । यसका सबै ४३८ सीटका लागि भोटिङ भएको छ । सीनेट यहाँको माथिल्लो सदन हो । सीनेटका ३४ सीटका लागि आज भोटिङ भएको छ । यद्यपी नयाँ सांसद १९ डिसेम्बरमा भोट गर्न पाउनेछैनन् । उनको ठाउँमा जनताको तर्फबाट इलेक्टोरल भोटबाट चुनिएका ५३८ नेता आगामी राष्ट्रपतिका लागि भोटिङ गर्नेछन् ।
के इलेक्टोरल कलेजबाट फरक नतिजा आउने सम्भावना हुन्छ ?
सम्भावना छ । अहिले सार्वजनिक भएको नतिजा ‘पपुलर भोट’ यानिकी जनताको रोजाई अनुसारको हो । कुल ५३८ इलेक्टर्समध्ये २७० भन्दा बढी इलेक्टर्स रिपब्लिकन पार्टीबाट चुनिएकाले नै ट्रम्पले चुनाव जिते भनिएको हो । तर, मिडिया रिपोर्टहरुमा विश्वास गर्ने हो भने कतिपय रिपब्लिकन इलेक्टर्स नै ट्रम्पलाई मन पराउँदैनन् ।
इलेक्टोरल कलेजका प्रायः मतदाताले त पार्टी उम्मेद्वारलाई नै भोट गर्छन् । यद्यपी यहाँ क्रस भोटिङ पनि हुनसक्छ, जसले ट्रम्पलाई अफ्ठ्यारोमा पार्नसक्छ । यस्तो अवस्थामा पपुलर भोटका केही सिटमा फेरि मतदान गर्नुपर्ने पनि हुनसक्छ ।
यसअघि भएको थियो पुनः मतदान ?
भएको थियो । सन २००० मा जर्ज डब्ल्यू बुशले अहिले हिलारीले जस्तै पपुलर भोटिङमा आफ्ना प्रतिद्वन्द्वी अल गोरभन्दा कम भोट पाएका थिए । यद्यपी अन्तर अहिलेको जस्तो ठूलो भने थिएन । पछि इलेक्टोरल कलेजमा बुशले बाजी मारे, अनि राष्ट्रपति बने । अमेरिकी राष्ट्रपति चयनको अन्तिम अधिकार इलेक्टोरल कलेजमा नै हुन्छ । जसले पपुलर भोटको नतिजा प्रभावित पार्न पनि सक्छ ।
के हुन्छ जनवरीमा ?
जनवरी ६ का दिन अमेरिकन काँग्रेसको जोइन्ट सेशन बोलाइने छ । त्यसक्रममा इलेक्टोरल कलेजको भोट गणना हुनेछ । त्यसैदिन नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको औपचारिक घोषणा हुनेछ । नवनिर्वाचित राष्ट्रपतिले २० जनवरीको दिन शपथ लिनेछन्, अनिमात्रै ह्वाइट हाउसमा प्रवेश पाउनेछन् ।
ओबामाले कहिले छाड्छन् ह्वाई हाउस ?
राष्ट्रपति निर्वाचन जितेपनि हृवाइट हाउस प्रवेशका लागि ट्रम्पले अझै दुई महिनाभन्दा बढी समय पर्खनुपर्ने हुन्छ । डोनाल्डले आगामी जनवरी २० देखिमात्रै अमेरिकाको सर्वोच्च पदमा आसिन हुनेछन् । सन् २०१७ को जनवरी २० मा सपथ ग्रहण गरेपछि मात्र उनी हृवाइट हाउस प्रबेश गर्नेछन् । त्यही दिन अर्थात जनवरी २० मै बर्तमान राष्ट्रपति बराक ओबामाले ट्रम्पलाई कार्यभार सुम्पनुका साथै उनका लागि हृवाइटहाउस खाली गरिदिनेछन् ।












प्रतिक्रिया