काठमाडौं, २४ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले अंगीकृत नागरिकले मुलुकको संविधान अनुसार कुनै पनि संवैधानिक निकायको प्रमुख पदमा नियुक्ति पाउन नसक्ने बताउनु भएको छ ।
गणेशमान सिंहको १०१औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शोभाभगवतीमा आयोजित विशेष कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै नेता सिंहले अंगीकृत नागरिकलाई संवैधानिक निकायका प्रमुख पदमा नियुक्ति र निर्वाचनमा भाग लिन दिन नसकिने बताउनुभयो ।
‘अंगीकृत नागरिकलाई संवैधानिक निकायका प्रमुख पदमा जाने कुरा आउँदैन’, उहाँले भन्नुभयो, ‘संविधानमा व्यवस्था भए अनुसार सबैले गर्नुपर्छ । अंगीकृत नागरिकलाई प्रमुख पदमा बहाली गर्नु हुँदैन । संविधानको मर्म अनुसार अगाडि बढ्नु पर्छ । अंगीकृत नागरिकलाई संवैधानिक पदमा नियुक्त, मनोनीत र निर्वाचित हुने सवाल नै आउँदैन ।’
मधेसी मोर्चाले अंगीकृत नागरिकलाई पनि संवैधानिक निकायको प्रमुख पदमा जाने अधिकार दिनुपर्ने भनेर माग गरिरहेका बेला कांग्रेसका प्रभावशाली नेता सिंहले त्यसको जोडदार रुपमा विरोध गर्नुभएको हो ।
कांग्रेसको नेतृत्वमा संविधान सभाबाट संविधान जारी भएको बताउनुभएका नेता सिंहले भन्नुभयो, ‘संविधानको रक्षा गर्नुपर्छ । सबै राजनीतिक शक्तिले संविधानमा भएको प्रावधानलाई कार्यान्वयन गर्न सरकारलाई मद्दत गर्नुपर्छ ।’
स्वर्गीय गणेशमान सिंहले भने अनुसार कांग्रेसले अब मुलुकमा आर्थिक क्रान्ति गर्नु पर्ने उहाँको भनाइ छ । गणेशमान सिंहले ०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको स्मरण गर्नुभएका नेता सिंहले भन्नुभयो, ‘०४६ सालको आन्दोलनको सफलता पछि खुला मञ्चमा सम्बोधन गर्दा गणेशमान सिंहले मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ भन्नुभएको थियो । अब कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्छ ।’
विक्रम संवत १९९७ सालदेखि राजनीति सुरु गरेका गणेशमान सिंह कहिल्यै पनि उच्च लाभको पदमा बस्न मान्नु भएन । ०४६ सालको जनआन्दोलनको नेतृत्व गर्नु भएका सिंहले गरेका योगदानको अहिले पनि स्मरण गरिँदै आइएको छ ।
नेपाली कांग्रेसले गणेशमान सिंहको १०१ औँ जन्मजयन्तीका अवसरमा कुनै औपचारिक कार्यक्रम नराखे पनि शुभेच्छक र शुभेच्छक संस्थाहरूले मुलुकभरि विभिन्न कार्यक्रम गरी गणेशमान सिंहको सम्झना गरेका छन् ।











प्रतिक्रिया