सिरह, २४ कात्तिक । सुनि जान्ने र पढी जान्ने सवै मिडियाको केन्द्रमा रह्यो छठको महिमा । समानताको पर्व, सद्भावको पर्व र समुदायलाई जोड्ने पर्व भनेर छठको अतिशय प्रचार भयो तर सिरहाको धनगढीमाई नगरपालिका वडा नं.३ कुर्वा हनुमाननगरमा दुई डोम परिवारलाई जलाशयको घाटबाट सानो जात भन्दै लघारियो । घाटमा वर्जित गरिएपछि मरिक परिवारले बाध्य भएर आफ्नै चापाकल छेउमा एउटा खाल्टो खनेर पानी जमाएर जेनतेन छठको अर्घ दिए ।
छठको दिन दिउँसो लिलीया मरिक र जहरी मरिक छठको अर्घका लागि नैवेद्यका परिकारहरु बनाउँदै थिए । गाउँको पोखरी घाट समितिका दुई जना राम सकल महतो र जीवछ यादव मरिकको घरमा आएर चेतावनी दिए ।
खवरदार मूल वाटोबाट नहिड्नु र पोखरी घाटमा नजानु । छुट्टै ठाउँमा छठ मनाउनु । ललीया मरिकले गहँभरि आँसु पार्दै भनिन् वर्षौ वर्षदेखि त्यही सार्वजनिक पोखरीको एक छेउमा हामीले छठलाई अर्घ दिदै आएका थियौं तर यसपालि खोई कोनी के भयो गाउँलेलाई ? दिउँसै आएर धम्की दिएर गए ।
मरिक दुई परिवारले दिउँसै जलाशय पोखरीको घाटमा सफाई गरी आफ्नो लागि स्थान बनाएका थिए । त्यहाँ लगेर चढाउने पकवान र नैवेद्य राख्न एउटा खाट पनि राखेका थिए । घरमै आएर चेतावनी दिनेहरुले पोखरी घाटबाट पनि डोम परिवारले राखेको खाट मिल्काई दिए । पीडित जहरी मरिकले भनिन्, ‘खाट फ्याकिदिए पछि घाटमा जाने आँट आएन । बाध्य भएर आफ्नै कल छेउमा खाल्टो खन्यौ र छठलाई अर्घ दियौं ।’
जहरीले घरमा आएर चेतावनी दिनेहरुलाई सोधेकी थिइन्, ‘यतिका वर्षले हामीलाई कसैले रोकेको थिएन तर यस वर्ष किन हामीसंग भेदभाव ?’ उनीहरुले सारा गाउँलेको निर्णय हो भनेर बताएको जहरीले दुखेसो पोखिन् ।
मरिक पविारको घर छेउमै सार्वजनिक पोखरी दुलही झैं सिगारिएको थियो । सजिसजाउ झकिझकाउ पोखरीमा नयाँ लुगा लगाएर मेरा वालवच्चा पनि हरेक वर्ष छठमा रमाउँथे तर यो वर्ष अनिष्ट भयो भन्दै वृद्ध जहरीले पनि आँसु झारिन ।
पीडित सोभी मरिकले भने छठ गर्ने प्रत्येक घरमा हामी डोम परिवारले बुनेका बाँसका कोनीया, नाङ्गलो पुगेको छ । ती दुई बाँसका चीज नभई छठ हुंदैन । नैवेद्य चढाउने ती बाँसका सामान मेरै हातले बुनेको हो तर हाम्रो परिवारलाई घाटमा अछुत भनेर जान दिएनन् ।
छठको घाट वर्जित गरेर छुवाछुत गरेको र मानव अधिकारको उलंघन भएको भन्दै छुवाछुत विरुद्धका सामाजिक अभियन्ता रामचन्द्र मरिकले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन हालेका छन् । निवेदनमा उनले घटनाको छानविन गरी दोषीमाथि कारवाही गर्न माग पनि गरेका छन् ।
छुवाछुत विरुद्धका सामाजिक अभियन्ता रामचन्द्र मरिक भन्छन् गत वर्ष महानायक राजेश हमाल आएर धनगढीमाई नगरपालिका ११ नयनपुरमा डोम परिवारलाई ईनारबाट पानी खुवाउन खोजे । त्यो घटनाले आन्दोलनको रुप लियो । त्यसैको रीसईबीले छिमेकी गाउँमा डोम परिवारलाई छठको घाट वर्जित गरियो । ईनार छुन माग्दा पोखरी पनि गुम्यो ।
मरिकको निवेदन परेपछि आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख शुवर्ण कमाचार्यको नेतृत्वमा एक छानविन टोलीले मंगलबार घटनास्थल पुगी पीडितहरुसंग बयान लिएको छ । कर्माचार्यले आयोगले घटनाको छानविन गर्ने र प्रतिवेदन सार्वजनिक गर्ने बताए ।












प्रतिक्रिया