काठमाडौं, १७ कात्तिक । काश्मिरस्थित भारत र पाकिस्तान सीमा क्षेत्रमा जारी भीडन्तमा परी भारतीय सेनामा कार्यरत नेपाली युवाको ज्यान गएको छ ।
यो घटना भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने नेपाल भ्रमणमा आउनुपूर्व घटेको छ । मुखर्जी आज काठमाडौं आउँदैछन् ।
पाकिस्तानी सीमा सुरक्षामा खटिएका रेन्जर र भारतीय फौजबीच एलओसी नजिकै राजोरी र मेन्ढर क्षेत्रमा भएको भीडन्तमा भारतीय बोर्डर सेक्युरिटी फोर्समा कार्यरत नेपालको धरान घर भएका २० वर्षीय राइफलम्यान बिमल तामाङको ज्यान गएको जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताले जानकारी दिएका छन् ।
बिमलले ज्यान गुमाएको मेन्ढर बालाकोटमा गोलाबारीका क्रममा भारतीय सेनाका थप चार जवान घाइते भएका छन् । घटनामा एक महिला पनि मारिएकी छन् ।
बिमल मारिएकै दिन पाकिस्तानको तर्फबाट अन्य स्थानमा पनि भएको गोलाबारीमा भारतीय सेनाका थप पाँचजना जवान पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पाकिस्तानी सेनासँगको भीडन्तमा यसअघि भारतीय सेनाका सातजना जवान मारिइसकेका छन् ।












प्रतिक्रिया