काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्लाई सरकारले राष्ट्रिय संवत्का रुपमा घोषणा गरिसकेकाले अब त्यसलाई व्यवहारमा उतार्ने सङ्कल्प आवश्यक भएको बताउनभएको छ ।
नेपाल संवत् ११३७ का उपलक्ष्यमा आज थानकोटमा नेपाल संवत्का प्रवत्र्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःको सालिक अनावरण गर्दै प्रधानमन्त्रीले नेपाल संवत् नेपालको मौलिक र सारा नेपालीको संवत् भएको बताउँदै उहाँले भन्नुभयो, “मेरो अघिल्लो प्रधानमन्त्रीको कार्यकालमा यसलाई राष्ट्रिय संवत् घोषणा गरेँ, यस पटक हामी सबै मिलेर यसलाई व्यवहारमा उतार्ने सङ्कल्प गरौँ ।”
उहाँले सरकार संविधान कार्यान्वयनका लागि सक्रिय रहेको र विभिन्न पक्षबाट उठाइएका माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । भूकम्पपछिको पुनःर्निर्माण र सुशासनलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले थानकोट–कलङ्कीको सडक खण्डलाई फराकिलो पार्ने काममा सरकारले विशेष जोड दिएको जानकारी पनि दिनुभयो । कार्यक्रममा सांसद रुपा महर्जन, भीमसेनदास प्रधान, पूर्वराज्यमन्त्री दिलीप महर्जन लगायतले नेपाल संवत्को महत्वबारे चर्चा गर्नुभएको थियो ।
सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढाइने
प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको सहमतिमा संविधान संशोधन प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबद्वारा आज आयोजित द्यौसीभैलो कार्यक्रममा उहाँले स्थानीय , प्रदेश र केन्द्रको निर्वाचन गरेर मात्रै अहिलेसम्म भएको उपलब्धि रक्षा गर्न सकिने बताउनुभयो । पुनःनिर्माण अघि बढाउन सरकारले प्राथमिकतासाथ काम अघि बढाएको र आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आजै बस्ने जानकारी दिनुभयो ।
उहाँले छिमेकी राष्ट्रको विकासबाट नेपालले पनि लाभ हासिल गर्न सक्ने बताउँदै दुवै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी द्यौसीभैलीकै अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया