काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन् ।
उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकता लगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने स्पष्ट पारे ।
प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताएका छन् । उनले भने, ‘संविधान संशोधनको लागि मैले अहोरात्र खटेर काम गरिरहेको छु, साथै तीन वटै निकायको चुनाव समयमै गर्नेगरि सरकारले काम गरिहेको छ, यसको लागि मैले विशेष पहलकदमी लिएको छु ।’
आइतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा ‘संविधान संशोधन, कार्यान्वयन र दलहरुवीच एकता कायम गर्न रिपोर्टर्स क्लब नेपालको दबाबमूलक कार्यक्रमसहित पुगेको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले सरकार तीन वटै निकायको चुनाव गर्न केन्द्रित भएको बताएका हुन् । उनले सरकारले संविधानको सर्वस्वीकार्यता र राष्ट्रिय एकतामा समेत जोड दिएको बताए ।
प्रधानमन्त्री दाहालले सत्ता पक्ष र प्रतिपक्षवीचको तिक्तता हट्दै गएकोले मुलुकमा अब निर्वाचन हुने वातावरण बनेको समेत विश्वास व्यक्त गरे । उनले भने– ‘अहिले जुन खालको सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी बन्दै गएको छ, यो अत्यन्तै सकारात्मक हो, अब मुलुकमा निर्वाचन हुने वातावरण बन्यो ।’
देशलाई एकताबद्ध गर्ने, सबै राजनीतिक दल र शक्तिहरुलाई पनि सहमतिमा ल्याउने, संविधानमा केही संशोधन गरेर यसको स्वीकार्यतालाई फराकिलो पार्ने र निर्वाचनमा जाने बाटोमा कोही कतै द्विविधामा पर्नु नहुने प्रचण्डको भनाई छ ।
पछिल्लो समय मुलुकमा नकारात्मक कुराहरु बढि प्रवाह हुने गरेकोमा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले सकारात्मक कुरामा पनि सबैले ध्यान दिनुपर्ने बताए । उनले अघि भने, ‘सकारात्मक कुराहरुमा हामीले धेरै ध्यान दिनुपर्छ, देउसीभैलोले सबैलाई यही शुभकामना दिओस् ।’
प्रधानमन्त्री दाहालले भने, ‘रिपोर्टर्स क्लब नेपाल र ऋषि धमलाले धेरै प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ, धमलाजी र क्लबको आँफ्नै नेचर र नेटवर्क छ ।’
पत्रकार धमलाको आग्रहलाई हार्न नसकेर प्रधानमन्त्री दाहाल छमछमी नाचेका थिए ।












प्रतिक्रिया