
काठमाडौँ, ११ कात्तिक । भारतमा रहनुभएका परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय गृहमन्त्री राजनाथ सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता भई नेपाल र भारतका साझा तथा द्विपक्षीय हितका साथै दुई देशबीचका सुरक्षासम्बन्धी विभिन्न पक्षमा कुराकानी भएको छ ।
दुई देशबीचको सीमा क्षेत्रमा आपराधिक क्रियाकलापको नियन्त्रणका लागि दुवै देशबाट अपनाउनुपर्ने सावधानी र चुस्त सुरक्षा संयन्त्रका विषयमा पनि सो भेटमा कुराकानी भएको थियो । भेटका क्रममा आफूले गृहमन्त्री सिंहलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको जानकारी पनि मन्त्री डा महतले दिनुभयो ।
त्यसैगरी मन्त्री डा महत र भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोबलबीच पनि आज नै नयाँ दिल्लीमा भेटघाट भएको छ । मन्त्री डा महत नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि हाल भारतको राजधानी नयाँ दिल्लीमा हुनुहुन्छ । सो आयोगको बैठक आजै सम्पन्न भएको छ । मन्त्री डा महत शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो । रासस












प्रतिक्रिया