काठमाडौं, ११ कात्तिक । मृगौलामा कुनै खरावी छ की छैन भन्ने परिक्षण गराउने व्यवस्था अबदेखि स्थानीय स्वास्थ्य संस्थामै हुने भएको छ ।
मृगौला परिक्षणका लागि प्रयोग हुने “डिपिस्टीक किट” मनाङ्ग बाहेकका सवै जिल्लामा पठाई सकिएकाले स्थानीय तहमै मृगौला परिक्षण गर्न पाईने भएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाइएको जनाएको छ ।
महाशाखाका निर्देशक डा भिमसिंह टिंकरीले मनाङ्गमा बाटोको समस्याका कारण केही दिनपछि पुग्ने र अरु सवै जिल्लामा किट पठाईसकिएको जानकारी दिनुभयो ।
चार महिना अगाडी नै किट पठाउने भनिएपनि कार्यान्वयन नभईरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सबै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था हुन लागेको हो ।
मन्त्री थापाको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, उपक्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल लगायत गरी १ सय ३३ ओटा स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई केहीदिनमा स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउने भएको छ ।
२० मिलिलिटर जति पिसाबले किट भिजाएपछि देखिने किटको रङ्गका आधारमा मृगौलाको अवस्था थाहा हुने डा. टिंकरीले जानकारी दिनुभयो ।
परिक्षण गर्दा कुनै समस्या नभएको देखिएमा एक बर्षपछि फेरि परिक्षण गर्न आउन सुचित गरिने र समस्या देखिएमा थप उपचारका लागि आग्रह गरिने उहाँले बताउनुभयो ।
सरकारले ल्याएको नयाँ सेवालाई उपयोग गरी आफ्नो मृगौलाका बारेमा थाहा पाइराख्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयले यसै बर्ष विद्यालयहरुमा स्वास्थ्यकर्मीसहित किटहरु पठाएर विद्यार्थीहरुको मृगौला परिक्षण गर्ने तयारी समेत गरेको छ ।













प्रतिक्रिया