उदयपुर, ११ कात्तिक । जिल्लाको शैक्षिक गुणस्तर सुधारका लागि १० बुँदे संकल्प प्रस्ताव पारित गरिएको छ ।
पेसागत महासंघ नेपाल र सानाकिसान सहकारी लिमिटेड देउरीको सहयोगमा जिल्ला शिक्षा कार्यालय बिद्यालय निरीक्षण क्षेत्रनं २ उदयपुरले आयोजना गरेको विगत कार्यक्रमको समिक्षा र हाम्रो विद्यालय राम्रो विद्यालय कार्यक्रममा यस्तो संकल्प प्र्रस्ताव पारित गरिएको हो ।
पारित प्रस्तावमा उदयपुरको देउरी स्रोत केन्द्रअन्र्तगतका बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, आमा समुहका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, अन्य सरोकारवाला निकायले हस्ताक्षर गरेका छन् ।
पहिलो पटक पारित गरिएको उक्त प्रस्तावमा सेवा क्षेत्रभित्रका प्रत्येक टोलमा आमा समुह–टोल शिक्षा समिति गठन गरी अभिभावकलाई शैक्षिक अभियानमा अग्रसर बनाउने, बिद्यालयमा नीति, विधि र प्रविधिको प्रयोग भित्र्याउने, आबश्यक अनुसारको अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने रहेका छन् ।
त्यसैगरी कक्ष रमाईलो बनाउने उपायकोको खोजी गर्ने, छलफल चलाउने र नमुना योग्य कार्यको थालनी गर्ने, बिद्यालय सुधार योजनामा उल्लेखितलक्ष्यहरु पुरा गर्न जिम्वेवारी वाँडफाँड गरी टिम परिचालन गर्ने, सरोकारवालासँग छलफल गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने, अनुगमन मुल्याकंन र सुपरीवेक्षणको कामको आधारमा सम्मान पुरस्कारको व्यवस्था गर्ने रहेका छन् ।
त्यस्तै सिकाइ उपलब्धि बृद्धी गर्न बिषयगत छलफल, गोष्ठि, शैक्षिक सामग्री निर्माण, बिषयगत कक्षा निर्माण गर्ने, बर्षेडाँडा घोषणापत्र २०७०, उदयपुर शैक्षिक मार्गचित्र र हातेमालो अभियान गाईघाटका उपयोगी कुराहरु लागु गर्ने, नयाँ प्रविधिको बिकास र खोजी गर्ने प्रस्ताव उक्त संकल्पमा समेटिएका छन् ।
समेटिएका प्रस्तावलाई तत्काल कार्यान्वन तहमा लैजाने प्रतिवद्धता जनाइएको छ । पारित प्रस्तावलाई कार्यान्वयन गर्न सके जिल्लाको खस्कदै गएको शिक्षालाई गुणस्तरीय बनाउन सकिने आयोजक संस्थाका संयोजक बिद्यालय निरीक्षक जसबहादुर कार्कीले बताए ।
‘टोलटोलमा आमा समुहको सेवा गुणस्तरीय शिक्षाका लागि टेवा’ भन्ने मुलनाराकासाथ २०७० सालदेखि यो अभियान सञ्चालन गरिएको उनले बताए । अभियान सञ्चालन यता बिद्यालयको शिक्षामा व्यापक सुधार आएको सहभागि विद्यालयका प्रधानाध्यापकहरुले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले व्यवस्थापनमा सुधार गर्न सकेमात्र गुणस्तरीयता कायम गर्न सकिने बताए । उनले प्रधानाध्यापक हुनुअघि विद्यालयका यी काम गर्न सक्छौ या सक्दैनौ यदि सकेनौ भने पदमुक्त गराईने जस्ता प्रतिवद्धता अगाडी नै गर्न सके सुधार गर्न सकिने बताए । यधपि बढ्दो ट्रेड युनियनको हस्तक्षेपले शिक्षा क्षेत्रमा समस्या उत्पन्न भएको उनको भनाई थियो ।
कार्यक्रमको सहजिकरण गर्दै पुर्व सांसद एवंम एमाले नेता गुरु बरालले थोरै सुधारले शिक्षामा व्यापक सुधार ल्याउन सकिने बताए । उनले स्रोतसाधन नभएर निरास हुनुभन्दा पनि भएका स्रोतसाधनको प्रयोग गर्न सके उपलब्धि हासिल गर्न सकने स्पष्ट पारे ।
कार्यक्रममा कविर माध्यमिक बिद्यालय बेलबारीका अध्यक्ष नरेन्द्र वराल, हिमालय उच्च माध्यमिक बिद्यालय दमक झापाका सहायक प्रर्चाय ओम आचार्य र सजिलाल उच्च माबिका प्रअ नारायण घिमिरेले आफ्नो बिद्यालयमा भएका प्रगतिका कुराहरु सुनाएका थिए ।
नमुना बिद्यालयका रुपमा रहेका ति बिद्यालयले आफु नमुना हुन, गुणस्तरीयता कायम गर्न अपनाएका बिधी, पद्धती, भईरहेका प्रयास, आगामी कार्ययोजनाका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा बिद्यालयका प्रअ, अध्यक्ष, आमा समुहहरुले आआफ्ना समस्या राखेका थिए ।
उनीहरुले शिक्षालाई गुणस्तरीय बनाउन भएका स्रोतसाधनको भरपुर सदुपयोग, शिक्षा सम्बन्धी बनेका नीति नियम, ऐनको अध्ययन, शैक्षिक सामग्रीको बिकास, बाह्य वातावरण, अन्य जिल्लाका सिकाइलाई व्यवहारमा उतार्ने जस्ता प्रतिवद्धता जनाएका थिए ।













प्रतिक्रिया