काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको अदालतबाट मृत्युदण्डको सजाय पाएका दार्चुलाका अमर बमलाई आममाफी दिने व्यवस्था गर्न युएई सरकारलाई आग्रह गरेका छन् ।
सन् २००३ देखि युएईस्थित केन्द्रीय कारागारमा रहेका बमलाई भारतीय नागरिकको हत्यामा संलग्न भएको अभियोगमा अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । हाल उनी मृत्यु कुरेर बसिरहेका छन् ।
विहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट्न आएका नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसमक्ष प्रचण्डले बमलाई आममाफी दिन ध्यानाकर्षण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
साथै राजदूत नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा पनि दिए ।
राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताए । प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताए ।
नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चाँसोबारे आफू युएई फर्केर छलफल गर्ने बताए ।












प्रतिक्रिया