१ मंसिर २०८३, मंगलबार

उपेन्द्रले बोलाए गठबन्धनको बैठक, लोकमानबारे ठोस निर्णय गर्ने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Upendra Yadavकाठमाडौं, १० कात्तिक । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको अविश्वासको प्रस्ताव संसदमा अगाडि बढेपछि लामो समयदेखि बस्न नसकेको संघीय गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ ।

काठमाडौंको तीनकुनमा रहेको संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बिहीबार बस्ने गठबन्धनको बैठकले महाअभियोगका विषयमा सम्बन्धमा आफूहरूको धारणा स्पष्ट पार्नेछ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले बिहीबार बस्ने बैठकमा महाअभियोगमा के गर्ने भन्ने विषयले प्रवेश पाउने बताउनुभयो । ‘संघीय गठबन्धन सम्भवत महाअभियोगको पक्षमा जाँदैन’, उहाँले भन्नुभयो, ‘हाम्रो चासो भनेको संविधान संशोधन हो । विगत एक वर्षदेखि आन्दोलनमा छौँ । आन्दोलनबाट पछाडि हटेर महाअभियोग लगाउँदै हिँड्नु हुँदैन ।’

मधेसी मोर्चाको बैठक बस्न नसकिरहेका बेला गठबन्धनको बैठक बस्न लागेको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले बिहीबारको बैठकमा महाअभियोग प्रस्तावमा के गर्ने, संविधान संशोधन, स्थानीय तहको सीमाङ्कन लगायतका विषयमा प्रस्ताव पेश गर्नेछन् ।

स्रोतका अनुसार गठबन्धनको बैठकमा मधेसी मोर्चाका केही नेताहरू आउने छैनन् । यसअघि मोर्चा र गठबन्धनले राजधानीमा अलग अलग कार्यक्रम गरेकाले त्यसको प्रभाव बिहीबारको बैठकमा पर्न सक्नेछ ।