काठमाडौं, ९ कात्तिक । स्वास्थ्यमन्त्री एवम् कांग्रेसका सांसद गगनकुमार थापाले महाअभियोगको समर्थन गर्दै राजनीतिक दलहरूले एक ठाउँमा आएर निर्णय गर्नुपर्ने बताउनुभएको छ ।
संसदको मंगलबारको बैठकमा महाअभियोगको प्रस्तावको समर्थन गर्दै मन्त्री थापाले अहिले फेरि दलहरू एक ठाउँमा आउने मौका मिलेको बताउनुभयो । ‘भूकम्पले दलहरू एक ठाउँमा आएका थिए’, उहाँले भन्नुभयो, ‘महाअभियोगले फेरि दलहरू एक ठाउँमा आएका छौँ । आउनु पर्छ ।’
उहाँले लोकमान सिंह कार्कीको गलत प्रवृत्तिलाई जरैदेखि उखेलेर फाल्नु पर्ने बताउनुभयो । ‘कांग्रेसले अहिले नै महाअभियोगको प्रस्तावको पक्षमा जाने वा नजाने केही निर्णय गरेको छैन’, मन्त्री थापाले भन्नुभयो, ‘ठूला नेताहरूले सुरुमा गरेको गल्तीलाई अहिले आएर सच्चाउने मौका मिलेको छ ।’
राप्रपा नेपालकी सांसद कुन्तीकुमारी शाहीले हामीसँग छलफल गरेर महाअभियोग प्रस्ताव नल्याइएकोले ठीक समयमा ठीक निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नै के गर्ने भन्ने निर्णय भएको छैन । संसदीय दलको बैठकबाट ठीक समयमा ठीक निर्णय गर्ने छौँ ।’











प्रतिक्रिया