काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाअभियोगसम्बन्धी संसदीय समितिले दिने प्रतिवेदनका आधारमा उचित समय ठीक निर्णय गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले मंगलबार बिहान कालीकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले महाअभियोगका पक्ष वा विपक्षमा जाने कुरा संसदीय समितिको प्रतिवेदन हेरेर निर्णय गर्ने उल्लेख गर्नुभएको हो । ‘महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाइ सकेको छ’, उहाँले भन्नुभयो, ‘यस विषयमा कांग्रेसले उचित समयमा ठीक निर्णय लिन्छ ।’
नेता सिंहले भन्नुभयो, ‘महाअभियोगसम्बन्धी विषयमा संसदीय समितिले आफ्नो छानविन प्रतिवेदन पेस गरिसकेपछि गहन रुपमा अध्ययन गरेर आधिकारिक धारणा ल्याउने छौँ ।’ उहाँले तत्काल महाअभियोगको पक्ष वा विपक्षमा गइहाल्ने भनेर कांग्रेसले निर्णय गर्न नसक्ने उल्लेख गर्नुभयो ।
संविधान र कानून उल्लंघन गर्ने अधिकार कसैलाई नरहेको भन्दै जो सुकै व्यक्तिले गलत गरेको छ भने कारबाही हुने उहाँको चेतावनी थियो । ‘कानून र संविधानभन्दा माथि कोही पनि छैन’, सिंहले भन्नुभयो, ‘कांग्रेस विधि र कानूनको पक्षमा छ । कानून उल्लंघन गर्ने अधिकार कसैलाई छैन । कसैले अधिकार दुरुपयोग गर्छ भने छाडिँदैन । र आत्तिएर कुनै विषयमा निर्णय गर्दैनौँ ।’
नेपाललाई हिन्दू राष्ट्र बनाउने विषयमा सोधिएको जिज्ञासामामा नेता सिंहले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा संविधान आयो । संविधानमा धर्मनिरपेक्षता उल्लेख छ । त्यसको बचाउ गर्ने काम कांग्रेसको हो । कसैलाई चित्त बुझ्दैन भने प्रक्रिया अनुसार जानु पर्छ ।’ नेपाललाई कसैले हिन्दू राष्ट्र बनाउनु पर्छ भनेर अभिव्यक्ति दिन्छ भने त्यो उसको व्यक्तिगत धारणा हुने नेता सिंहको भनाइ थियो ।











प्रतिक्रिया