काठमाडौं, ८ कात्तिक । मुलुकलाई राजनीतिक निकास दिनका लागि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा नेताहरूले नेतृत्वलाई दबाब दिने सहमति कायम गरेका छन् ।
काठमाडौंको नयाँ बानेश्वरमा सोमबार बेलुका सम्पन्न संयुक्त बैठकले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगको प्रस्तावलाई सहज रुपमा अगाडि बढाउन दबाब दिने सहमति गरेको हो ।
उनीहरूले मुलुकलाई राजनीतिक निकास दिने दायित्व युवाहरूको रहेको भन्दै एक जुट भएर जाने निर्णय पनि गरेका छन् ।
बैठकका निर्णयबारे जानकारी दिँदै कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद धनराज गरुङले भन्नुभयो, ‘लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगमा साझा धारणा बनाएर जाने सहमति भएको छ । समन्वयकारी भूमिका युवाहरूले गर्नुपर्छ । अख्तियार जस्तो संवैधानिक निकायलाई आगामी दिनमा उसको गरिमा र मर्यादामा राख्नका लागि पहल गर्ने सहमति भएको छ ।’
कांग्रेस नेता गुरुङले संविधान कार्यान्वयन, संविधान संशोधन र निर्वाचनका लागि साझा धारणा बनाएर अगाडि बढ्ने विषयमा प्रमुख दलका युवा सांसद र नेताहरूवीच सहमति भएको उल्लेख गर्नुभयो ।
बैठकमा कांग्रेसका धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, सुरेन्द्र पाण्डे, प्रदीप पौडेलको सहभागिता रहेको थियो ।
एमालेबाट मुख्य सचेतक भानुभक्त ढकाल, रविन्द्र अधिकारी, प्रकाश ज्वाला, शेरधन राई, पार्वत गुरुङ तथा माओवादी केन्द्रका नेता एवम् उर्जामन्त्री जनार्दन शर्माको बैठकमा उपस्थिति रहेको थियो ।











प्रतिक्रिया