काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्यहरूले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा नजान नेतृत्वलाई दबाब दिएका छन् ।
सोमबार ललितपुरस्थित सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने सदस्यहरूले जनभावना र लोकतान्त्रको संरक्षका लागि महाअभियोगको विपक्षमा जान नहुने धारणा राखेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।
‘सबै सदस्यहरूले महाअभियोगको विपक्षमा जान नहुने धारणा राख्नुभएको छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस महाभियोगको विपक्षमा जाँदैन भन्ने मलाई लाग्छ ।’
बैठकमा धारणा राख्ने सदस्यहरूले संविधान संशोधन र स्थानीय तह पुनर्संरचनाका विषयमा पनि नेतृत्वको गम्भिर ध्यानाकर्षण गराएका छन् । उनीहरूले असन्तुष्ट पक्षका मागलाई संविधान संशोधन गरेर निकास दिनुपर्ने धारणा राखेको केन्द्रीय सदस्य यादवले बताउनुभयो ।
कात्तिक ४ गतेदेखि जारी कांग्रेसको बैठकमा आज बलबहादुर के.सी., बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, पार्वता डी.सी. चौधरी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, बीरबहादुर बलायर, डा. डीला संग्रौला, सरिता प्रसाई, बहादुर सिंह लामा तामाङ र लक्ष्मी परियारले धारणा राखेका थिए ।











प्रतिक्रिया