१ मंसिर २०८३, मंगलबार

कानूनभन्दा माथि कोही छैन, महाअभियोगमा उचित निर्णय आउँछ : नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singh-congressसुर्खेत, ७ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले महाअभियोग प्रस्तावका विषयमा कांग्रेसले ठीक समयमा उचित निर्णय लिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुर्खेतले आइतबार बिहान वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले संसदको नियमावली अनुसार कांग्रेसले महाअभियोग प्रस्तावमा भाग लिने बताउनुभयो । ‘महाअभियोग प्रस्तावका बारेमा अहिले नै निर्णय लिनेभन्दा पनि ठीक समयमा उचित निर्णय हुन्छ’, उहाँले भन्नुभयो, ‘जो सुकै व्यक्ति कानूनभन्दा माथि छैन भन्ने मान्यता कांग्रेसको छ । जो सुकै व्यक्ति भए पनि कानून र संविधानभन्दा माथि हुँदैन ।’

महाअभियोग प्रस्ताव राख्दा माओवादीले सत्ता साझेदार नेपाली कांग्रेसलाई जानकारी नै नगराई एमालेसँग मिलेर संसदमा दर्ता गराएकोप्रति असन्तुष्ट देखिनु भएका नेता सिंहले भन्नुभयो, ‘मेजर पार्टीलाई जानकारी नगराइकन महाअभियोग प्रस्ताव ल्याइयो । यसले कता कता आशंका पैदा गरेको छ ।’

नेता सिंहले संसदमा रहेको महाअभिाग सुझाव समितिमा कांग्रेसले छलफल गर्ने भन्दै संसदको कार्यविधि अनुसार भोटिङको अवस्थासम्म एउटा उचित निर्णय लिने उल्लेख गर्नुभयो ।

कांग्रेसले महाअभियोगको पक्ष वा विपक्ष कता भोटिङ गर्छ भन्ने पत्रकारहरूको जिज्ञासामा नेता सिंहले भन्नुभयो, ‘पक्ष–विपक्षभन्दा पनि महाअभियोग सुझाव समितिले निश्चित प्रक्रिया पूरा गरेपछि कांग्रेस एउटा टुङ्गोमा पुगेर निर्णय गर्छ ।’

नयाँ संविधान कार्यान्वयनमा कांग्रेसले ध्यान दिएको नेता सिंहको भनाइ छ । ‘तीन तहको निर्वाचन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘यसअघि पनि संविधान संशोधन कांग्रेसकै अग्रसरतामा भयो । अहिले केही मुद्दाहरूमा मधेसी मोर्चाको असहमति छ । कांग्रेस जायज मुद्दामा संशोधन गर्न तयार छ ।’