काठमाडौं, ५ कात्तिक । आफूविरुद्ध यति ठूलो अभियोग लाग्ला भनेर कल्पना पनि नगरेका अख्तियार प्रमुख लोकमान सिंह कार्की अहिले पनि सरकारी सुविधा प्रयोग गरिरहेका छन् ।
काठमाडौंको नक्सालस्थित अख्तियार परिसारमा रहेको रातो घरमा बसिरहेका कार्कीले माओवादी केन्द्र र नेकपा (एमाले) मिलेर संसदमा दर्ता गराएको महाअभियोगका विषयमा आफन्तहरूसँग परामर्श गर्ने र शक्तिकेन्द्रहरूमार्फत प्रस्तावलाई निस्तेज पार्न सक्रिय रहेको स्रोतको भनाइ छ ।
महाअभियोग प्रस्ताव दर्ता भएपछि कानुन सम्मत स्वतः निलम्बनमा परेका लोकमान सिंह कार्कीले अहिले पनि सुविधाको रातो सरकारी निवासमा बसेर समानान्तर काम गर्दै आएको खुलासा भएको छ । उनको गतिविधीले अख्तियारमा काम गर्न समस्या भएको गुनासो कर्मचारीहरूले गरेका छन् ।
अख्तियारको कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यात भए पनि उनको कार्यसम्पादनमा प्रभाव पार्ने गरेर कार्कीले गतिविधी गरिरहेको आरोप छ ।
अख्तियारका एक कर्मचारीले भने, ‘लोकमान सिंह कार्कीलाई जेलमा हालेर अनुसन्धान नगर्ने हो भने यो मान्छेले सबैलाई प्रभावमा पार्न सक्छ । अख्तियारमा सबै कर्मचारी र आयुक्तहरूका गतिविधी निगरानी गर्न आफ्ना भरौटेहरू परिचालन गरेको छ ।’
महाअभियोगको प्रस्ताव आफूविरुद्ध आइसकेपछि लोकमान सिंह कार्की त्यत्तिक बस्छन् भन्ने पनि छैन । आफूविरुद्धको प्रस्तावलाई निस्तेज पार्न उनले सबै संयन्त्र परिचालन गरेको स्रोतको भनाइ छ ।
हुन त लोकमान सिंह कार्कीलाई बचाउनका लागि नेपालका लागि भारतीय राजदूत रणजित राय र ‘रअ’का कर्मचारीहरू सक्रिय भएर लागेको सञ्चारमाध्यम समाचार आइ सकेका छन् ।











प्रतिक्रिया