३१ आश्विन २०८३, शनिबार

कृष्णपुरमा नवौं भेट्रान फुटबल सुरु, एकता प्रगति सामुदायिक वनको विजयी सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 vetran-football

– अर्जुन सिंह

(झलारी) कञ्चनपुर, १ कात्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नवौं भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।

सोमबार कृष्णपुर- २ बंक–बनहरा मैदानमा कृष्णपुरका सामुदायिक वनहरुबीच भेट्रान फुटबल सुरु भएको हो । प्रतियोगिताको उद्घाटन सहायक जिल्ला वन अधिकृत वीरबहादुर ठगुन्नाले गर्नुभयो । उहाँले सामुदायिक वनले संरक्षणका अतिरिक्त खेलकुदलाई पनि प्राथमिकता दिएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो । साथै क्षेत्रीयस्तरको खेलमैदान निर्माणका लागि जिल्ला वन कार्यालयका तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।

उद्घाटनपछि आज भएको एक मात्र खेलमा भेट्रानतर्फ आयोजक दीपेन्द्र स्मृति सामुदायिक वनलाई १-० गोलअन्तरले हराउँदै एकता प्रगति सामुदायिक वनले विजयी सुरुवात गरेको छ ।

कार्यक्रममा सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले खेललाई जोडेर संरक्षणलाई अगाडि बढाउने अभियान ९ वर्षअघि सुरु भएको भन्दै अझैपनि खेल मैदानको अभाव भएकाले बंक-बनहरा मैदानलाई क्षेत्रीय खेल मैदान बनाउनका लागि पहल गर्न सबैसँग आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, महिला, दलित नेतृत्व विकास लगायतका क्षेत्रमा सामुदायिक वनले ठूलो योगदान गरेको भन्दै अध्यक्ष जोशीले पछिल्लो समय भइरहेको वन्यजन्तु र मानवीय द्वन्द्वलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नवौं भेट्रान फुटबल प्रतियोगिता मूल आयोजक समितिका संयोजक लोकेन्द्र प्रसाद पन्तले खेलबाट भाइचाराको विकास र वन संरक्षणमा टेवा पुग्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उहाँले प्रतियोगितालाई आगामी दिनहरुमा अझै व्यवस्थित बनाउन सामुदायिक वनहरुको आर्थिक कोष बनाउने प्रस्ताव गर्नुभयो । ‘आर्थिक बोझ एक वनले मात्रै उठाउन नसक्ने हुँदा साँझा कोष बनाउ,’ उहाँले भन्नुभयो- ‘खेलमैदान निर्माणमा पनि सहयोग पुग्नेछ ।’

vetran-football-2

सामुदायिक वनले महिला, दलित, खेलकुद, सीपमुलक तालिम, क्षमता अभिवृद्धि लगायत यी सबै कार्यक्रम गर्नुको उद्देश्य उपभोक्ता वनजंगल संरक्षणमा लागुन भन्ने नै रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका कृष्णपुर नगरसभापति भक्तबहादुर खत्रीले भेट्रान फुटबलले मित्रता कायम गरेको, सम्बन्ध विस्तार गरेको र नयाँ परिचय हुने आधार बनेको भन्दै यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो ।

नेकपा एमाले कृष्णपुर नगर कमिटी अध्यक्ष अमरजंग शाहीले सामुदायिक वनले भाइचारा कायम राख्न खेल आयोजना गर्नु प्रशंसनीय कार्य हो भन्दै आगामी दिनहरुमा अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं वाईसीएल केन्द्रीय सदस्य अर्जुन साउदले सामुदायिक वनहरुले संरक्षण, सम्वद्र्धनका साथसाथै क्षमता अभिवृद्धि तथा खेलकुद प्रतियोगिता आयोजना गरी कृष्णपुरवासीबीच भाइचारा कायम गराउनु कृष्णपुरको गौरवको कुरा भएको भन्दै आफ्नो पार्टीले खेलकुदको विकासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सम्पूर्ण शैक्षित संस्थाको तर्फबाट बोल्दै उदय सरस्वती क्याम्पस प्रमुख गणेश चन्दले खेलले विद्यार्थीलाई अनुशासन सिकाउने र गतिशील बनाउने भन्दै खेलको माध्यमबाट देशलाई चिनाउन सकिने भएकाले सबैले सकारात्मक सोच बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कञ्चनपुर क्षेत्र नम्बर २ मा खेलमैदान अभाव भइरहेको बताउँदै बंक-बनहरा मैदानलाई क्षेत्रीयस्तरको खेलमैदान बनाउनका लागि पहल गर्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै आयोजक दीपेन्द्र स्मृति सामुदायिक वनका अध्यक्ष जयनारायण जोशीले खेलले भाइचाराको कायम हुने भन्दै खेलमैदान निर्माणमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतियोगितामा भेट्रानतर्फ ८ टिम र युवा तर्फ १० टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा भेट्रानतर्फ प्रथम पुरस्कार २ हजार ५ सय र १० हजार बराबरको खसी, द्वितीय पुरस्कार १ हजार ५ सय नगद र ८ हजार बराबरको खसी, तृतीयमा एक हजार नगद, पाँच हजार बराबरको खसी रहेको छ ।

त्यसैगरी युवातर्फ प्रथम ७ हजार बराबरको खसी, द्वितीयलाई १० किलो ब्रोइलर कुखुराको मासु र तृतीयलाई सान्तवना पुरस्कार राखिएको प्रतियोगिता सचिवालय संयोजक दीपेन्द्र बहादुर बमले जानकारी दिनुभयो । प्रतियोगिता ७ गतेसम्म चल्नेछ ।