काठमाडौं, २३ असोज । आइसीसी महिला विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ ।
आइतबार हङकङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ७७ रनमात्रै बनाउन सक्यो ।
७८ रनको लक्ष्यसहित जवाफी व्यटिङमा उत्रिएको हङकङले २१ बल बाँकी छँदै १६.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि निर्मलाकुमारी शाहीले सर्वाधिक १८ रन बनाइन् । कप्तान रुबिना क्षेत्रीले १२ रन जोडिन् भने रश्मी चौलागाइँले ११ रन बनाइन् । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
हङकङका मारिको हिल, बेट्टी चान र चान साउ हारले समान २–२ विकेट लिए ।
हङकङको जितका लागि नतुरल योपले सर्वाधिक ३३ रनको योगदान गरिन् भने याश्मिन दस्वामीले १३ रन बटुलिन् । नेपालकी निर्मलाकुमारी शाहीले २ विकेट झार्दा करुण भण्डारीले १ विकेट लिइन् ।
आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलहरु आइतबार आजदेखि सुरु भएका हुन् । एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ ।
समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ ओटा खेल खेल्नेछन् । यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने महिला विश्वकपको अन्तिम छनोट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
















प्रतिक्रिया