काठमाडौं, २२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालीको दसैं विशेष अवसरका रुपमा उपयोग गर्ने भएका छन् ।
मधेसवादी दलका नेताहरुसँग सम्बन्ध बढाउनेदेखि पिताको हातबाट टीका लगाउनेसम्मका कार्यक्रम गरी ओलीले दसैं मनाउने तयारी गरेका हुन् ।
हिजो शुक्रबार राष्ट्रकवि माधव घिमिरेलाई भेटेर शुभकामना आदानप्रदान तथा आर्शिवाद लिएर दसैं मनाउन सुरु गरेका ओलीले शनिबार (आज) पत्रकारहरुलाई आफ्नै निवासमा बोलाएका छन् ।
अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार यसपाली अध्यक्ष ओलीको दसैं काठमाडौंमै हुनेछ ।
पूर्वप्रधानमन्त्री ओलीले ८७ वर्षीय पिता मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनेछन् । दसैँ मनाउन मोहनप्रसाद काठमाडौं आइसकेका छन् ।
यसैगरी दसैं टिकालगत्तै असोज २९ गते अध्यक्ष ओलीले भव्य चियापान कार्यक्रमको आयोजना गरेका छन् । जहाँ मधेसवादी दलका सबै नेता पाहुना बनेर आउँदैछन् । यो कदमलाई धेरैले मधेसवादी दलसँगको सम्बन्ध सुधारको प्रयासका रुपमा लिएका छन् ।
स्वकीय सचिव आचार्यले दसैँमा अध्यक्ष ओलीको छुट्टै कार्यक्रम नरहेकाले औसत नेपालीले झैँ दसैँ मनाउने जानकारी दिए ।












प्रतिक्रिया