१ मंसिर २०८३, मंगलबार

काभ्रेको रिसोर्टमा प्रहरीको छापा, ३६ चिनियाँ नागरिक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा रहेको ह्वाइट पार्क रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार रिसोर्टमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले रिसोर्टबाट केही थान ल्यापटप र मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये ३१ पुरुष र पाँच महिला रहेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टका अनुसार पाँचखालबाहेक धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ।

ह्वाइट पार्क रिसोर्टमा छापा मार्ने क्रममा दुईवटा कोठामा शंकास्पद गतिविधि हुन सक्ने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत बोलाइएको डीएसपी विष्टले जानकारी दिए।

जिल्लाका विभिन्न रिसोर्टमा ठूलो संख्यामा विदेशी नागरिक बस्दै आएको र उनीहरूको गतिविधि तथा बसाइको उद्देश्यबारे चासो बढेपछि प्रहरीले निगरानी र अनुसन्धान अघि बढाएको हो।

नियन्त्रणमा लिइएका चिनियाँ नागरिकको गतिविधि, उनीहरू बस्नुको उद्देश्य र बरामद सामग्रीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।