१ मंसिर २०८३, मंगलबार

जेनजी घाइते सान्तनुको उपचारमा सरकारले बेवास्ता गरेको छैन : स्वास्थ्यमन्त्री मेहता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका १९ वर्षीय सान्तनु ढकालको उपचारमा सरकारले बेवास्ता गरेको भन्ने आरोप स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले अस्वीकार गरेकी छन्। उनले ढकालको उपचार त्रिवि शिक्षण अस्पतालमा मन्त्रालयकै पहलमा भइरहेको र त्यसको खर्च सरकारले व्यहोर्ने बताएकी छन्।

सामाजिक सञ्जालमा घाइतेको उपचारमा सरकारी सहयोग नपुगेको भन्दै आलोचना भएपछि मन्त्री मेहताले सार्वजनिक रूपमा आफ्नो धारणा राखेकी हुन्। उनले ढकालको शल्यक्रियासहित उपचार प्रक्रियाबारे आफू निरन्तर जानकारीमा रहेको उल्लेख गरेकी छन्।

मन्त्री मेहताका अनुसार जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार प्रचलित कानुनी व्यवस्थाअनुसार भइरहेको छ। उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने व्यवस्था रहेको र आवश्यक भुक्तानी तथा सोधभर्नाको प्रक्रिया मन्त्रालयमार्फत अघि बढाइने उनले स्पष्ट पारेकी छन्।

‘कुनै पनि घाइते आर्थिक अभावका कारण आवश्यक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन हामी प्रतिबद्ध छौँ,’ मन्त्री मेहताले सामाजिक सञ्जालमा लेखेकी छन्।

उनले थप उपचारका लागि भारत पठाउनुपर्ने अवस्थामा रहेका केही घाइतेको उपचार व्यवस्थापनका लागि पनि प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छन्। यस विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ।

आन्दोलनका क्रममा सुनसरीको इटहरी चोकमा गोली लागेर सान्तनु घाइते भएका थिए। देब्रे गालामा गोली लागेका उनको हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।