नैनिताल, ६ असोज । नेपाल र भारतका पर्यटन व्यवसायीले पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधवार नैनिताल र रुद्रपुरमा आयोजित कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायीबीच भएको छलफलमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डमा धेरै पर्यटकीय क्षेत्र भएकोले दुवैतिरका पर्यटकीय क्षेत्रको विकासमा सहयोग आदानप्रदान गर्नुपर्ने आवश्यक्ता औल्याइएको हो ।
सुदूरपश्चिम गन्तव्य प्रर्वद्धन कार्यक्रम अन्र्तगत नेपाल पर्यटन वोर्ड,नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), पर्यटन विकास समाज धनगढी, कैलाली तथा कञ्चनपुरका उद्योग वाणिज्य संघ र होटल व्यवसायीको संयुक्त आयोजनामा भएको कार्यक्रममा पर्यटकीय क्षेत्रमा जाँदा भोग्नु पर्ने सहजता र कठिनाइ वारे चर्चा भएको थियो ।
नाटाका अध्यक्ष मायाप्रकाश भट्टले मानोसरोवर, पशुपति नाथ जानका लागि सुदूरपश्चिमको रुट समयका हिसावले छोटो खर्चका हिसावले सस्तो पर्ने भएकोले त्यो गन्तव्य छान्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका थिए । उनले अहिले चलेका रुटका हिसावमा सुदूरपश्चिमबाटको यात्रा सुरक्षित र भरपर्दो हुने चर्चा पनि गरे ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका अधिकृत रोहिणीप्रसाद खनाल, पत्रकार चित्राङ्ग थापा, कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी, पर्यटन विकास समाजका अध्यक्ष कृष्णवहादुर महरा, महासचिव सञ्जय चौधरी लगायतले नेपाल र सुदूरपश्चिमका महत्वपूर्ण गन्तव्य वारे जानकारी दिएका थिए ।
नैनितालको कार्यक्रममा प्रमुख अथिति कुमाउ मण्डल विकास निगमका प्रवन्ध निर्देशक त्रिलोकसिंह मारतनेलियाले आफूहरु पश्चिम नेपालका पर्यटन व्यवसायीहरुसंग सहकार्य गरेर जान इच्छुक रहेको वताए । कार्यक्रममा नैनिताल क्षेत्रका पर्यटन व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नैनिताल र रुद्रपुरका व्यवसायीले कञ्चनपुर र कैलाली नाकाबाट नेपाल तथा चीनका पर्यटकीय र धार्मिक क्षेत्रमा जान सहज हुने जानकारी पहिलो पटक पाएको वताएका थिए । रुद्रपुरमा ३५ वर्षदेखि पर्यटन व्यवसायमा रहेका आरपी वंशलले अब सुदूरपश्चिमबाट पर्यटकिय क्षेत्रमा पठाउन आफूले पहल गर्ने बताए ।
















प्रतिक्रिया