१९ कार्तिक २०८३, बिहिबार

गङ्गामायालाई न्याय देऊः इन्सेक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

insecकाठमाडौं, ६ असोज । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले छोराका हत्यारलाई कारवाहीको माग गर्दै अनसनरत गङ्गामाया अधिकारीलाई न्याय दिन सरकारकासँग माग गरेको छ ।

इन्सेकका केन्द्रीय अध्यक्ष सुबोधराज प्याकुरेलले अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको दुई वर्ष पूरा भएको दिन विहीबार एक विज्ञप्ति जारी गर्दै मृतक नन्दप्रसादको अन्तिम संस्कार गर्ने वातावरण बनाउन र अधिकारी परिवारलाई न्यायको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् ।

यस्तो छ विज्ञप्तिः

न्यायको माग गर्दै अनसन बसेकै अवस्थामा गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दिवङ्गत भएको आज असोज ६ गते दुई वर्ष पूरा भएको छ । अधिकारी दम्पती नन्दप्रसाद र गङ्गामाया ०६९ माघ २२ गतेदेखि अनसन बस्दै आएकामा नन्दप्रसादको मृत्यु भएपश्चात पनि गङ्गामायाले न्याय प्राप्तिको आफ्नो अडानलाई आजसम्म कायमै राखेकी छन् । केही समय अघि चितवन जिल्ला अदालतको आदेश अनुसार गङ्गामायाको बकपत्र भएको छ । बकपत्रमा छोराको हत्या व्यक्तिगत रिसिइवीका कारण गरिएको बताउँदै द्वन्द्वसँग असम्बन्धित घटना भएको उनले दोहोर्याएकी छन् ।

नन्दप्रसादको न्याय प्राप्तिको आन्दोलन र मृत्युपछिका दुई वर्षको अवधिमा सरकारले गरेका क्रियाकलापले नन्दप्रसादसँगै न्यायसमेत मार्न खोजिएको आभास हुन्छ । तर, न्याय मार्न सजिलो नहुने कुरा हेक्का राख्न हामी सरकारलाई सचेत गराउन चाहन्छौँ ।

अधिकारीको मृत्यु र उनकी पत्नी गङ्गामायाको सत्याग्रहलाई अन्तर्रा्ष्ट्रिय मानव अधिकार समुदायले नजिकबाट नियालिरहेको समेत जानकारी गराउँछौँ । अधिकारी परिवारले नेपालमा न्याय नपाए अन्तर्रा्ष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कुराको नजिर स्थापित भइसकेकोसमेत स्मरण गराउँछौँ ।

सरकारको प्रत्यक्ष निगरानीमा अनसनमा बसेका अधिकारीको मृत्यु भएको दुई वर्ष पूरा भइसक्दा पनि शवलाई अस्पतालको एउटा बाकसमा थन्क्याउनुपर्ने परिस्थितिले सरकारी उदासीनता झनै छर्लङ्ग्याएको छ । मृतक नन्दप्रसादको अन्तिम संस्कार गर्ने वातावरण बनाउन तथा अधिकारी परिवारलाई न्यायको प्रत्याभूति दिन नेपाल सरकारसँग माग गर्दछौँ ।