रुकुम, ३ असोज । पञ्चे वाजा आमा समुह मु.न.पा. १ सालघारी रुकुमका महिलाहरु आजभोली जिल्लामा हुने विभिन्न औपचारिक कार्यक्रममा व्यस्त बन्न थालेका छन् ।
प्राय जसो सरकारी निकायले जिल्लामा आयोजना गर्ने विभिन्न कार्यक्रममा यी पञ्चे बाजा बजाउने आमा समुहहरु संलग्न हुने गर्दछन् । पछिल्लो समयमा पञ्चे बाजाहरुको लोप हुंदै जाने क्रममा यी बाजाहरुको संरक्षणार्थ यस आमा समुह सक्रियता पूर्वक एकजुट बन्ने गरेको छ । आमा समुह जिल्लामा सक्रिय बन्न थालेपछि पुरुषले मात्रै पञ्चे बाजा बजाउनुपर्छ भन्ने मान्यता समेत तोडिएको यस पञ्चे वाजा आमा समुहकी अध्यक्ष हिरा कुमारी परियार बताउनुहुन्छ ।
वि.सं. २०७२ साल माघ महिनामा गठन भएको यस पञ्चे वाजा आमा समुहमा करिब दश भन्दा बढि महिलाहरु पञ्चे बाजा बजाउनमा माहिर देखिन्छन् । उनीहरु जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी बन्दा फरक देखिने आफ्नो पोशाक र पञ्चे वाजाको बेग्लै कला कौशलमा प्रस्तुत हुने गर्दछन् । तर यी आमा समुहहरु कार्यक्रममा जाँदा निशुल्क रुपमा पञ्चे बाजा बजाउनका लागि जाने गर्दैनन् । कुनैपनि निकायले आयोजना गरेको कार्यक्रममा सहभागि बन्दा मात्रै पाँच हजार रुपैंया लिने गर्दछन् । पञ्चे बाजा बजाएर प्राप्त सो रकम आमा समुहले कुनै भोज भतेरमा खर्च गर्दैन, केवल आमा समुहकै खातामा बचत गर्ने गर्दछ । बचत पैसाले विभिन्न पञ्चे बाजाहरु निर्माण तथा समुदायको कुनैपनि सामाजिक कार्यमा प्रयोग गर्ने गरेको छ ।
पञ्चे बाजा तालिम सिक्दै गर्दा आफुहरुले धेरै परिश्रम र अथक मेहनत खर्चेको यी आमा समुहमा आबद्ध महिलाहरुले बताउने गर्दछन् । पञ्चे बाजा बजाउन सक्ने क्षमता भएकै कारण आफुहरुको सीपलाई प्रदर्शन गर्न पाउँदा सबै आमा समुहमा आबद्ध महिलाहरु खुशी देखिन्छन् । पञ्चे बाजा बजाउन सक्ने सीप यस आमा समुहले सुरु गरेयता आजभोली जिल्लामा आयोजना हुने सबै कार्यक्रममा यही पञ्चे बाजा आमा समुहको माग बढ्दै गईरहेकोे छ । पञ्चे बाजा बजाउदै गर्दा विभिन्न कार्यक्रममा सहभागी बन्नाले धेरै कुरा सिक्न पाईएको र घर परिवारले समेत राम्रो साथ सहयोग गरेकोले यसमा आवद्ध सबै आमा समुहका महिलाहरु एकदमै दंग छन् ।
खास गरेर यो पेशा पुरुषले मात्रै अंगाल्ने पेशा हो भन्ने कुरालाई चिर्दै सालघारीका यी महिलाहरु एक जुट भएर एकतृत बन्दा यी आमा सकुहका महिलाहरु सबैका लागि प्रेरणाका स्रोत बन्ने गरेका छन् । त्यसैले पछिल्लो समय लोपोन्मूख अवस्थामा देखिएको पञ्चे बाजाको संरक्षणका लागि पनि यो आमा समुह सशक्त भएर पञ्चे बाजा बजाउने सीपमा मात्र नभई संस्कृति र संस्कार बचाउने अभियानमा एकजुट भएको छ । यस आमा समुहको उदाहरणीय काम सबै समुदाय र हरेक व्यक्तिका लागि पनि उत्तिकै स्रहानिय छ ।













प्रतिक्रिया