१९ कार्तिक २०८३, बिहिबार

पद्मोदय पब्लिक नमूना उमाविलाई आइएसए अवार्ड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fb_img_1474118166543काठमाडौं, २ असोज । ब्रिटिश काउन्सिल नेपालले दाङ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना उच्च माध्यमिक विद्यालयसहित नेपालका ११ वटा विद्यालयहरुलाई इन्टरन्याशनल स्कुल्स अवार्ड प्रदान गरेको छ ।

गत बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा काठमाडौंस्थित ब्रिटिश राजदूतावासकी उपनियोग प्रमुख क्याथरिन स्मिटन तथा शिक्षा विभागका उप निर्देशक नरहरि अर्यालले संयुक्तरुपमा उक्त अवार्ड छनोटमा परेका विद्यालयहरुलाई प्रदान गर्नुभएको हो ।

पद्मोदय पब्लिक नमुना उमावि मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रबाट उक्त अवार्ड पाउन सफल एकमात्र विद्यालयमा परेको छ ।

ब्रिटिश काउन्सिलले शिक्षा मन्त्रालयसंग मिलेर इन्टरन्याशनल स्कुल्स अवार्ड (आइएसए) दिन लागेको यो चौथो वर्ष हो ।

सो अवार्ड पाउने विद्यालयहरुले ट्रफी र प्रमाणपत्रका साथै तीनवर्षसम्म आफ्नो विद्यालयका सबै स्टेशनरी तथा पत्राचारहरुमा आईएसएको लोगो प्रयोग गर्न पाउनेछन् ।

गुणस्तरीय पठनपाठनका साथै विद्यार्थीहरुमा ‘हामी विश्व नागरिक हौं’ भन्ने भावना जगाउन सफल शैक्षिक संस्थाहरुलाई उक्त अवार्डद्वारा सम्मानित गर्ने गरिएको छ ।

ब्रिटिश काउन्सिल, शिक्षा विभाग तथा पाठ्यक्रम विकास केन्द्रका प्रतिनिधिहरु रहेको एक टोलीले प्राप्त आवेदनहरुमध्ये बाट उत्कृष्ट विद्यालयहरुलाई छनोट गरी अवार्डकालागि सिफारिस गर्दछ ।

टोलीका सदस्यहरुले छनोटमा परेका विद्यालयहरुको स्थलगत अनुगमन गरी प्रतिवेदन बुझाएपछि अन्तिम नामावली प्रकाशित गरिन्छ ।

अवार्ड लिन काठमाडौं आउनुभएका पद्मोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालय, दाङका प्राचार्य डा। कृष्णराज डिसीले सम्पूर्ण विद्यालय परिवार, शिक्षक, शिक्षिक तथा विद्यार्थीहरुको अथक परिश्रमबाट सो प्रतिष्ठित अवार्ड पाउन सफल भएकोमा साह्रै प्रसन्नता अनुभव भएको बताउनुभयो ।

उहाँले सामान्यतया अभिभावकहरुको निजी विद्यालयतर्फ आकर्षण देखिएकाबेला मेहनत गर्यो भने सामुदायिक विद्यालयले पनि राम्रो नतीजा दिनुका साथै अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गर्न सक्छन् भन्ने उदाहरण आफ्नो विद्यालयले प्रस्तुत गर्न सकेको बताउनुभयो ।

उहाँले आगामी दिनमा विद्यालयको पठन पाठनको गुणस्तर खस्कन नदिन आफुहरुलाई थप प्रेरणा मिलेको पनि बताउनुभयो ।

विसं २००४ सालमा स्थापित उक्त विद्यालयमा झण्डै तीन हजार विद्यार्थीहरु अध्ययनरत छन् भने अहिले बिएस्सी सम्मको पठन पाठन भैरहेको छ ।

उक्त विद्यालयमा पश्चिम नेपालमै सबैभन्दा ठूलो पुस्तकालय र प्रयोगशाला पनि रहेको छ ।