१९ कार्तिक २०८३, बिहिबार

‘गणेशमान प्रजातन्त्रका लागि नझुक्ने राजनेता’

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ganeshman-sing

काठमाडौँ, १ असोज । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह प्रजातन्त्रका लागि नथाक्ने, नडराउने र नझुक्ने राजनेता हुनुभएकोमा जोड दिइएको छ ।

सिंहको १९औँ स्मृति दिवसको पूर्वसन्ध्यामा गणेशमान सिंह फाउन्डेसन र प्यासिफिक पब्लिकेसनले यहाँ आज संयुक्तरुपमा आयोजना गरेको जीवनाथ धमलाद्वारा लिखित ‘लौहपुरुष गणेशमान सिंह : जीवन, सङ्घर्ष र राजनीति’ विषयक पुस्तक लोकार्पण समारोहका वक्ताले यस विषयमा जोड दिनुभएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता सिंहका विषयमा अझै खोज अनुसन्धान गरी लुकेका पाटो उजागर गरिनुपर्ने बताउनुभयो ।

“गणेशमान भविष्य देख्ने नेता हुनुहुन्थ्यो, विसं २०४८ मै उहाँले समावेशीको मुद्दा उठाउनुभएको थियो, हामीले बेवास्ता ग¥यौँ, हामी विसं २०६३ मा यही मुद्दामा गयौँ, जननायक बिपी कोइरालाले पनि गणेशमान भविष्य बताउनसक्ने नेता हुनुहुन्छ भन्नुहुन्थ्यो”– उहाँले भन्नुभयो ।

अन्वेषकले नेता सिंहका विषयमा अझै खोजमूलक पुस्तक पाठकसमक्ष ल्याउनुपर्नेमा सभापति देउवाले जोड दिनुभयो ।

पूर्वमहामन्त्री एवम् फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले नेता सिंहका विचार मनन गरेर समसामयिक राजनीतिलाई दिशानिर्देश दिनुपर्ने बताउनुभयो ।

“प्रकाशित पुस्तकले राष्ट्रियता र प्रजातन्त्रलाई मजबुत बनाउन सहयोग गर्छ, उहाँको जीवनका कति पाटो म परिवारकै सदस्य भए पनि थाहा छैन, जसलाई अनुसन्धान गरी प्रकाशित गरिए देशलाई काम लाग्न सक्छ”– उहाँले भन्नुभयो ।

पुस्तकमाथि समीक्षा गर्दै वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले विसं २०४८ देखि २०५१ सालसम्मको काँग्रेसको इतिहास महत्वपूर्ण भएकाले भावी पार्टी नेतृत्वले पनि अध्ययन गर्नुपर्ने बताउनुभयो ।

इतिहासकार प्रा डा तीर्थप्रसाद मिश्रले नेपालको राजनीतिक इतिहासमा नेता सिंहको योगदान महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतले आउने पुस्तालाई गणेशमानका विषयमा खोज अनुसन्धान गर्न पुस्तकले प्रशस्त सामग्री प्रदान गरेको विचार राख्नुभयो ।

कार्यक्रममा पुस्तकका लेखक जीवनाथ धमला र प्यासिफिक पब्लिकेसनका अध्यक्ष ओमप्रकाश खरेलले निराश आत्मालाई आशावादी बनाउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेता सिंहको निधन विसं २०५४ असोज २ गते भएको थियो । यस अवसरमा आइतबार काँग्रेस र यसका भ्रातृ संस्थाले विभिन्न कार्यक्रम गरी १९औँ स्मृति दिवस मनाउँदैछन् ।

आइतबार बिहान शोभा भगवतीमा माल्यार्पण र बेलुकी रत्नपार्कस्थित शान्तिबाटिकामा दीप प्रज्वलन गरिने फाउन्डेसनले जनाएको छ । रासस