काठमाडौं, १ असोज । नेपाल तरुण दलको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा ललितपुर कांग्रेसका युवा नेता तथा तेक्वन्दो खेलाडी मीनकृष्ण महर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।
महर्जनले तरुण दलको अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै आफ्नो पक्षमा मत माग्न थालेका छन् । महर्जन निकट मानिने कांग्रेसका युवा नेता दिनेश चौधरीले भने, ‘मीनकृष्ण महर्जन तरुण दलको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार थाल्नुभएको छ । उहाँले जित्नु हुन्छ भन्ने धेरै तरुण साथीहरूको विश्वास छ ।’
महर्जनलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली नेता खुमबहादुर खड्का, वनमन्त्री शंकर भण्डारीलगायतका नेताहरूको समर्थन छ । अध्यक्षका उम्मेदवार महर्जन भन्छन्, ‘तरुण दललाई क्रियाशील बनाउनु पर्ने दाइत्व छ । अहिलेसम्म मौन बसेको तरुण दललाई मैले नयाँ जीवन दिन सक्छु । तरुणहरूमा नयाँ उर्जा थप्नका लागि पनि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’
पछि नेताहरूको दबाब आयो भने अध्यक्ष पदबाट पछाडि हट्नु हुन्छ कि ? भन्ने प्रश्नमा तरुण नेता महर्जनले भने, ‘म धेरै अगाडि बढीसकेको छु । टिम बनाउन काम धमाधम भइरहेको छ । कुनै पनि हालतमा पछाडि फर्किदैन । प्रतिस्पर्धा गर्न म तयार भएर तयारी गरिरहेको छु ।’
स्रोतका अनुसार तरुण दलमा महर्जनलाई जिताउन कांग्रेसका केन्द्रीय नेताहरूले भित्रभित्रै अभियान नै चलाएका छन् । कांग्रेसका भातृ संगठनहरू सभापति शेरबहादुर देउवा समूहले पनि महर्जनलाई समर्थन गर्न सक्ने स्रोतको भनाइ छ ।
नेपाल तरुण दलको कात्तिकको २७, २८ र २९ गते तीन दिनसम्म महाधिवेशन हुनेछ । सो महाविधेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
कात्तिक १० गतेभित्र अधिवेशनहरू सम्पन्न गरिसक्नु पर्ने तरुण दलले निर्देशन दिइसकेको छ । दस गतेभित्र अधिवेशन नगर्ने जिल्लाहरूलाई महाधिवेशनमा सहभागी हुन नपाउने चेतावनी शुक्रबार जारी विज्ञप्तिमा छ ।












प्रतिक्रिया