
काठमाडौँ, २७ भदौ । भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही दलले धम्की दिएको भन्दै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका सांसद जितेन्द्रनारायण देवले आपत्ति जनाउनुभएको छ ।
व्यवस्थापिका-संसद्को आजको बैठकको विशेष समयमा बोल्दै सासंद देवले सार्वभौम देशको सार्वभौम प्रधानमन्त्रीले मुलुकका बारेमा निर्णय गर्न सक्ने भएकाले कसैको धम्कीका भरमा दुई देशका सम्बन्ध अघि बढाउन र मुलुकको हितमा काम गर्न खुट्टा नकमाउन आग्रह गर्नुभयो ।
प्रमुख विपक्षी दल नेकपा एमालेतर्फ लक्षित गर्दै नेता देवले भने राजनीतिक पूर्वाग्रह राखेर केही दल–समूहले खबरदार यो गर्न पाइँदैन, त्यो गर्न पाइँदैन भनेर प्रधानमन्त्रीलाई धम्क्याइरहेको आरोप लगाउनुभयो ।
नेकपा एमालेले भारत भ्रमणमा प्रचण्डले राष्ट्रिय हितविपरित कुनै सम्झौता नगरुन भन्दै सचेत गराउँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।











प्रतिक्रिया