२८ कार्तिक २०८३, शनिबार

बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सवारी सञ्चालनमा समयसीमा निर्धारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त सडकखण्डमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै नयाँ समयतालिका निर्धारण गरेको हो ।

कार्यालयले जारी गरेको सूचनाअनुसार काठमाडौंको बल्खुबाट हेटौंडा जाने यात्रुबाहक सार्वजनिक सवारीसाधन बिहान ५ बजेपछि मात्र सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, बेलुका ८ बजेसम्ममा त्यस्ता सवारीसाधन फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ ।

प्रशासनका अनुसार साँघुरा सडक, भिरालो तथा घुम्ती सडक, तीव्र गति, चालकको लापरबाही, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था र चालकको अनिद्रा तथा अत्यधिक तनावका कारण उक्त सडक खण्डमा गम्भीर दुर्घटना दोहोरिने गरेका छन् ।

मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासो समेत प्राप्त भएको कार्यालयले जनाएको छ ।

सूचनामा यात्रुबाहक सवारीसाधन सञ्चालन गर्नुअघि तिनको अवस्था पूर्ण रूपमा जाँच गर्नुपर्ने उल्लेख छ । साथै, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुबाहक सवारीसाधन अनिवार्य रूपमा कडाइका साथ जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।