काठमाडौं । अस्ट्रेलियामा लागुऔषध दुर्व्यसनमा फसेर घरबारविहीन भएका २२ वर्षीय नेपाली युवालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको एसीटी टोलीले सहयोग गरेको छ । घरबाट बाहिरिएपछि सडकमा पुगेका ती युवालाई एनआरएनए एसीटीका संयोजक ललित मल्ल र उनको टोलीले उद्धार गरी सुरक्षित आवासको व्यवस्था गर्नेदेखि चिकित्सकीय सहयोग, दुर्व्यसनसम्बन्धी परामर्श र पुनःस्थापनाका लागि पहल गरेको हो ।
प्राप्त जानकारीअनुसार साथीभाइको दबाब र गलत सङ्गतका कारण ती युवा लागुऔषध दुर्व्यसनमा फसेका थिए । घरको सरसफाइ तथा व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेपछि उनी घरबाट बाहिरिएका थिए । टोलीले उनलाई सडकमा अलपत्र अवस्थामा भेटेको थियो ।
मल्लको टोलीले उनलाई कोठा सार्न सहयोग गर्नुका साथै वेलफेयर सेवासँग जोड्ने, चिकित्सकीय परामर्श उपलब्ध गराउने र कलेज भर्नाका लागि समेत पहल गरेको छ । एनआरएनएको वेलफेयर फन्ड तथा टोलीका सदस्यहरूको व्यक्तिगत सहयोगबाट आर्थिक सहायता पनि जुटाइएको छ ।
कलेज भर्ना भए पनि उनी अझै दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन् । लागुऔषध प्रयोग गर्ने साथीहरूको सङ्गतबाट टाढिन नसक्दा सामान्य जीवनमा फर्कन कठिन भइरहेको छ ।
एनआरएनए एसीटी संयोजक मल्लले युवालाई सहयोग गर्न नेपाली दूतावास लगायत विभिन्न निकायसँग समन्वय भइरहेको बताए । उनका अभिभावकले छोरालाई नेपाल फर्काइदिन आग्रह गरेका छन् भने ती युवाले पनि आवश्यक प्रक्रिया पूरा गरी पुनः अस्ट्रेलिया फर्कन मिल्ने भिसाको व्यवस्था गर्न सहयोग मागेका छन् ।
मल्लका अनुसार अस्ट्रेलियामा नेपाली समुदायभित्र लागुऔषध तथा मदिरा दुर्व्यसन, जुवातास, घरेलु हिंसा, आत्महत्याको जोखिम र घरबारविहीनताजस्ता समस्या पनि देखिन थालेका छन् । यस्ता समस्यामा परेका युवालाई दोष दिनेभन्दा समयमै पहिचान गरी उपचार, परामर्श र पुनःस्थापनामा सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।











प्रतिक्रिया