काठमाडौं, २६ भदौ । भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतको सम्बन्धलाई चीनसँग तुलना गर्न नमिल्ने बताएका छन् ।
भारतको हिन्दूस्तान टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रचण्डले भौगलिक रुपमा पनि भारत र नेपालबीच नजिकको साइनो रहेको भन्दै अरु देशसँग सम्बन्ध तुलना गर्नै नमिल्ने बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो सोचाई र केमेस्ट्री मिल्ने बताएका प्रचण्डले अन्तर्वार्तामा भारतको प्रशंसा गर्दै सम्बन्ध सुधारका लागि आफू भ्रमणमा आउन लागेको उल्लेख गरेका छन् ।
नेपालमा चीनको प्रभावका सम्बन्धमा सोधिएको प्रश्नमा उनले नेपाल र भारतको सम्बन्धमा चीन फयाक्टर नभएको समेत बताए । प्रचण्ड वैचारिक रुपमा चीनसँग नजिक रहेको प्रश्नमा उनले चीनका लागि दुवैको आइडियोलोजीभन्दा पनि व्यापार र अर्थतन्त्र महत्वपूर्ण रहेको बताए ।
मधेसवादी दलहरुको मागको सम्बन्धमा सोधिएको प्रश्नमा प्रचण्डले संविधान निर्माणको क्रममा आफ्नो पार्टीले ‘नोट अफ डिसेन्ट’ लेखेको र उनीहरुको मागको सम्बन्धमा आफ्नो सरकार गम्भीर रहेको दाबी गरेका छन् ।












प्रतिक्रिया