
– कमलराज भट्ट
काठमाडौं, २६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो देश र जनताको हितमा कुरा गर्नु कसैप्रतिको कुनै दुर्भाव वा सम्बन्ध असन्तुलित तुल्याउने रुपमा अर्थ्याउन नहुने तर्क गरेका छन् ।
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै ओलीले देश र जनताको हितमा कुरा गर्दा सम्बन्ध असन्तुलित बनायो भन्नु सर्वथा अनुचित र गलत भएको बताए ।
सरकारमा रहँदा आफ्नो कार्यकालमा नेपालमा भारतको एकाधिकार तोड्दै चीनसँग सम्बन्ध विस्तार गर्न खोजेका पूर्व प्रधानमन्त्री ओलीमाथि विरोधीहरुले चीनसँग नजिक र भारतसँग टाढा भएको आरोप लगाउने गरेका छन् । सत्ताबाट बाहिरिसकेपछि पनि ओलीले यस्ता आरोप खेप्दै आएका छन् । यसैक्रममा आइतबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ध्यानाकर्षण पत्रको ६ नम्बर बुँदामा ओलीले भारततर्फ संकेत गर्दै एउटा सर्वाभौमिक तथा स्वतन्त्र राष्ट्रले छिमेकी देशसँग सम्बन्ध बढाउँदा अर्को छिमेकीको टाउको दुखाई हुन नहुने तर्क गरेका छन् ।
नेपालजस्तो भूराजनीतिक स्थितिमा रहेको देशको सरकारले राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्वन गर्दा त्यसलाई आवेगयुक्त, असन्तुलित आदि जस्ता शब्दावलीले प्रहार गर्नु प्रकारान्तरले नेपालको राष्ट्रिय हितमा उठाइने आवाज प्रतिको उपेक्षा वा त्यस्ता आवाजहरु दमित होउन् भन्ने आशय मात्र भएको ओलीको धारणा छ ।
उनले भनेका छन्– ‘वर्तमान विश्वमा साना–ठूला सबै देशहरुले आफ्नो हितमा कूटनीति संचालन गर्ने र दुई पक्षीय वा बहुपक्षीय सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता साथ उठाउने सामान्य प्रचलन र अभ्यास नै हो । यस्तै अभ्यास अनुरुप नेपाल जस्तो भूराजनीतिक स्थितिमा रहेको देशको सरकारले राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्वन गर्दा त्यसलाई आवेगयुक्त, असन्तुलित आदि जस्ता शब्दावलीले प्रहार गर्नु प्रकारान्तरले नेपालको राष्ट्रिय हितमा उठाइने आवाज प्रतिको उपेक्षा वा त्यस्ता आवाजहरु दमित होउन् भन्ने आशय मात्र ठहरिन्छ । आफ्नो देश र जनताको हितमा कुरा गर्नु कसैप्रतिको कुनै दुर्भाव वा सम्बन्ध असन्तुलित तुल्याउने भनी अर्थ्याउनु सर्वथा अनुचित र गलत हो ।’
ध्यानाकर्षण पत्रको ६ नम्बर बुँदामार्फत ओलीले नेपालमा भारतले आफ्नो हुकुम चलिरहोस् भन्ने चाहनाले चीनसँग सम्बन्ध बढाउँदा तथा राष्ट्रिय हितमा आवाज उठाउँदा विभिन्न शक्ति परिचालन गरी दबाउने र रोक्ने गरेको आशय प्रकट गरेका छन् ।
अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा रहँदा वा नरहँदा देश र जनताको हित र स्वाभिमान तथा समृद्धिका लागि निरन्तर अघि सारेका विषय र कुराहरु समग्रमा नेपाल तथा यसका छिमेकीहरुका लागि पनि हितकारी रहेको स्पष्ट पारेका छन् ।
ध्यानाकर्षणपत्रमार्फत ओलीले राष्ट्रिय हितवपरित कुनैपनि सम्झौता नगर्न प्रचण्डलाई सचेत गराएका छन् । ‘नेपालको राष्ट्रिय हित र स्वाभिमान अनुरुप नै नेपाल सरकारको दृष्टिकोण र अडान तपाईको भारत भ्रमणका क्रममा प्रस्तुत गर्न तपाईको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ ओलीले प्रचण्डलाई पत्रबाटै ध्यनाकर्षण गरेका छन् । ।











प्रतिक्रिया