काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले भूकम्प पीडितलाई ८ लाख रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिँदै प्रचण्डले भूकम्प पीडितलाई ८ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
यसअघि ओली सरकारले भूकम्प पीडितलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । अघिल्लो सरकारको यो रकमलाई तीन गुणाले बढाएर प्रचण्डले ८ लाख पुगाएका हुन् ।
बिहीबार बसेको संसद बैठकलाई सम्बोधन गर्दै उनले तीन लाख रुपैयाँ अनुदान, अर्को तीन लाख रुपैयाँ सामूहिक जमानीमा निर्व्याजी र बाँकी २ लाख रुपैयाँ सहुलियतपूर्ण व्याजमा ऋण गरी ८ लाख रुपैयाँ भूकम्प पीडितलाई उपलब्ध गराउने योजना सुनाए ।
यसअघि प्रधानमन्त्री हुनेवित्तिकै प्रचण्डले ५ लाख दिने घोषणा गर्दै हेलिकप्टरबाट पैसा बाड्ने योजना सुनाएर चर्चामा आएका थिए । ओली नेतृत्वको अघिल्लो सरकारले घोषण गरेको २ लाख रुपैयाँले घर बनाउन नपुग्ने बताउँदै सरकारले ८ लाख रुपैयाँसम्म सहयोग गर्न उनको भनाई छ ।
८ लाख घोषणा हुँदा भूकम्प पीडितले अहिलेसम्म पहिलो किस्ताको ५० हजार नै पाएनन्

अघिल्लो सरकारले पहिलो किस्तामा ५० हजार र दोस्रो किस्तामा डेढ लाख दिनेगरी कार्ययोजना अघि बढाएको थियो । यसको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको थियो । प्राधिकरणका अनुसार ओली सरकारले ल्याएको कार्ययोजना अन्तर्गत अझै धेरै भूकम्प पीडितले पहिलो किस्तानै पाएका छैनन् । धेरै ठाउँमा वितरणको काम भइरहेको छ । भूकम्प पीडितलाई पहिलो किस्तावाफत ५० हजार रुपैयाँ नै वितरण गर्न नसकिरहेका बेला प्रचण्डले ८ लाख रुपैयाँ दिन्छु भन्ने घोषणालाई धेरैले सपना भनेका छन् । सामाजिक सञ्जालमा ‘सपना बाँड्न त ओलीले नै सिकाएका हुन् । प्रचण्ड कमरेडले पनि मज्जाले सिकेका रैछन् । आज संसदमा अनेक विधि भने ।’ भनेर प्रचण्डको यो योजनालाई उडाएका छन् ।
सम्बोधनका नाममा संसदबाट बजेट भाषण, ओलीभन्दा दोब्बर सपना देखाए
प्रधानमन्त्री प्रचण्डले सम्बोधन राष्ट्रका नाममा गर्ने जानकारी व्ययवस्थापिका संसदले दिएको थियो । तर, प्रचण्डको सम्बोधन राष्ट्रका नाममा भन्दा बजेट भाषणजस्तो भएको गुनासो धेरैले गरेका छन् । सामाजिक सञ्जालमा ‘जति नै ठूला सपना देखाए पनि दाहालले ओलीका जस्ता सुनिरहुँ लाग्ने रूमानी सपना सुनाउन सक्दैनन् ।’ भनेर आलोचना भएको छ । प्रचण्डले आफ्नो सम्बोधनका क्रममा अधिकांश समय योजना सुनाउनमै खर्चिए । जो बजेट भाषणजस्तै भयो । म्यादी सरकारका प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनमा ओलीभन्दा दोब्बर सपना देखाएको आरोप पनि लागेको छ ।













प्रतिक्रिया