काठमाडौं । संयुक्त राज्य अमेरिकामा अचानक उडानहरू रोकिएको छ । करिब ७ हजार उडानहरू रद्द गरिएको छ । योसँगै, न्युयोर्क, वासिङ्टन र क्यालिफोर्निया लगायत विभिन्न सहरको विमानस्थलहरूमा यात्रुहरू अलपत्र परेका छन् ।
संघीय उड्डयन प्रशासन (एफएए)ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार देशभरका उडान रोक्ने निर्णय गरिएको जनाएको छ ।
एफएएका अनुसार असाधारण परिस्थिति र सुरक्षाका कारण उडानहरू स्थगित गरिएको हो ।
एफएएको आदेशसँगै अमेरिकाको विभिन्न प्रमुख विमानस्थलहरूबाट कुनै पनि विमानले उडान भरेको छैन ।
शिकागो अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्ला दुई घण्टादेखि कुनै पनि उडान हुन सकेको छैन ।
फ्लाइटराडार२४ को एक जानकारी अनुसार, स्थानीय समय अनुसार दिउँसो ४ः०० बजेयता अमेरिकाका प्रमुख विमानस्थलहरूबाट कुनै पनि विमान प्रस्थान गरेका छैनन् । न्युयोर्कको जोन एफ केनेडी विमानस्थल र वासिङ्टनको रोनाल्ड रेगन विमानस्थलबाट अन्तिम उडानहरू दिउँसो ३ः३५ बजे भएको थियो ।
उडानहरू रोकिनुको कारण अझै स्पष्ट भइसकेको छैन ।
तर एफएएका एक प्रवक्ताले एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा असर पुर्याउने गरी सञ्चारसम्बन्धी समस्या देखिएको बताएका छन् । यी केन्द्रहरूले देशभर हुने उडान गतिविधिहरूको व्यवस्थापन गर्छ ।
सिएनएनले एक स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार, वास्तवमा के भइरहेको छ भन्ने कुरा एफएएलाई नै अझै यकिन रूपमा थाहा छैन ।
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ (९/११)को आक्रमणयता यस्तो घटना घटेको यो दोस्रोपटक हो । यसअघि, सन् २०२३ को जनवरीमा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा उडानहरू रोकिएको थियो ।











प्रतिक्रिया