काठमाडौं, २० भदौ । फिलिपिन्सले विद्रोही समूह अबु सायाफलाई समाप्त पार्न गोर्खा सैनिक लैजाने भएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेले देशमा आतंकवाद र तस्कर समाप्त पार्न गोर्खा सैनिकको सहयोग लिने बताएका हुन् ।
फिलिपिनी न्यूजमा प्रकाशित समाचार अनुसार रोड्रोगोले आफू राष्ट्रपति बन्ने बित्तिकै लामो समयदेखि लागुऔषध तस्करमाथि जरो गाडेको उक्त विद्रोही समूहविरुद्ध युद्ध नै लड्ने घोषणा गरेको र यो अभियानलाई सफल पार्न गोर्खा सैनिक लिने तयारी गरेको उल्लेख छ ।
राष्ट्रपति रोड्रोगो डुटेर्तेले मन्त्रिपरिषद्को सुरक्षा क्लस्टरका सदस्यहरुलाई भेटेर गोर्खा सैनिक लैजानेबारे छलफल गरेको समाचारमा उल्लेख छ ।

फिलिपिन्सको चर्चित अनलाइन पत्रिका पिनायो ट्रेडिङ अनुसार गोर्खालीहरू ‘मर्न र मार्न’ नडराउने भएकाले अबु सयाफको अन्त्य उनीहरूबाट मात्र सम्भव हुने राष्ट्रपतिको भनाइ छ । ‘भाग्नु भन्दा मर्नु जाति’ भन्ने सिद्धान्तका आधारमा गोर्खालीले युद्ध लड्ने भएकाले उनीहरूलाई ल्याउन राष्ट्रपतिले पहल थालेको जनाइएको छ ।
‘उनीहरू पुरानो हतियार खुकुरीको भरमा हजारौंँसँग लड्न सक्छन्, एक गोरखा सैनिकले अफगानिस्तानमा ३० जना तालिवानलाई खुकुरीको भरमा एक घन्टामा हत्या गरेका छन्,’ राष्ट्रपति रोड्रिगोको भनाइ उल्लेख गर्दै अनलाइन समाचारमा जनाइएको छ ।
उनले जसरी भए पनि गोर्खा सैनिक ल्याएर मुलुकमा आतंकवादी संगठनको तहस-नहस गरिदिने चेतावनी दिएका छन् । तर, गोर्खा सैनिक कहाँबाट कसरी ल्याउने भन्नेबारे केही खुलाइएको छैन ।
















प्रतिक्रिया