काठमाडौं, १४ भदौ । सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१६ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम सम्पन्न भएको छ ।
उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले मंगलबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक राईले त्यसअवसरमा यस प्रकारको तालिमले संगठनमा कार्यरत अधिकृृतहरुलाई अझ उत्कृष्ट र व्यावसायिक रुपले कार्य गर्न मद्दत पुग्ने बताउनुहुँदै मेहनत गर्नेले सधैं सफलता हासिल गर्ने उल्लेख गर्नुभयो ।
सफलताको लागि हरेकले सकारात्मक सोचका साथ कार्यक्षेत्रमा समर्पित रहनु पर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक राईले संगठनका प्रत्येक राष्ट्रसेवकले व्यावसायिकतालाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्र र नागरिकको सेवा र सुरक्षाको लागि व्यावसायिक कूशलता पूर्वक कार्यक्षेत्रमा समर्पित रहिरहनु पर्ने बताउनुहुँदै संगठनको हितको लागि दायित्व निर्वाहमा समर्पित रहनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहँुदै राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझाले प्रत्येक संगठनले आफुलाई प्राप्त जिम्मेवारी पुरा गर्नको निमित्त आफ्ना कर्मचारीहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्ने बताउँदै तालिम प्राप्त प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नारायणदत्त पौडेलले तालिमको दौरानमा हासिल गरेका ज्ञानलाई सकारात्मक सोचका साथ कार्यक्षेत्रमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
तीन महिना अवधिको उक्त तालिममा कूल ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जन सर्वप्रथम भएका छन् । यसैगरी सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक बहादुर कुँवर शोधपत्रतर्फ उत्कृष्ट ठहरिएका छन् ।
प्रशिक्षार्थीहरुलाई तालिमको दौरानमा स्टाफ ड्युटिज, अप्रेशन अफ वार, इन्टेलिजेन्स, माइनर ट्याक्टिस, कमाण्ड तथा म्यानेजमेन्ट, पैदली तथा मद्धती फौज, सुरक्षा, विभिन्न ऐन नियम लगाएतका विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र जीतबहादुर पुन लगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको सुचना शाखा सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।













प्रतिक्रिया